|

काभ्रे : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)ले नवनिर्वाचित जनप्रतिनिधिले जनताको अहितमा काम गरी पार्टीलाई बदनाम गर्ने काम गरे कारवाही गरिने चेतावनी दिएका छन्।

पार्टीका तर्फबाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई दिन शनिबार काभ्रेमा आयोजित कार्यक्रममा पुनले राम्रो काम गर्न निर्देशन दिएका हुन्। जनप्रतिनिधिले पार्टीको निश्चित नीति, विचार, आदर्श, कार्यशैली र अनुशासनको दायरामा बसेर जनताका पक्षमा काम गर्न सक्नुपर्ने उनले बताए।

निर्धक्कसँग राम्रो काम गर्दा पार्टीले सहयोग गर्ने र हौसला दिने उनको भनाइ थियो। ०७४ को स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले पार्टी र पार्टीले जनप्रतिनिधि नखोजेको भन्दै अब त्यसरी नचल्ने पुनले बताए। आफ्ना जनप्रतिनिधिलाई अरुको आलोचना र खिसीट्युरीमा नअल्झिन सुझाव दिए। राम्रो काम गरेर मन जितेपछि जनता आफैँ माओवादी खोज्दै आउने उनको भनाइ थियो।

राम्रो काम गरेकै कारण भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अघिल्लो निर्वाचनमा दुई सय मतान्तरले जितेकामा यसपटक १२ हजार भन्दा बढीले जित हाँसिल गरेको चर्चा गरे। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक रेणुलाई दोहोर्‍याउँदा आफ्नो टाउकामा अपजस आउने भन्दा पनि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नमुना कामका आधारमा रेणुलाई पुनः उम्मेदवार बनाउनैपर्ने अडान बारम्बार लिएको पुनले उल्लेख गरे।

पार्टीको इज्जत र प्रतिष्ठा धुलोमा मिलाउने जनप्रतिनिधिलाई पार्टीमा राखिरहन नसकिने स्पष्टोक्ति उनको छ। ‘राम्रो गर्नेलाई प्रोत्साहन गर्ने, राम्रा प्रतिनिधिलाई सम्मान गर्ने र हौसला बढाउने काम हुन्छ’, पुनले भने, ‘नराम्रो गर्नेलाई सच्याउने र आवश्यक परे कारबाही पनि गर्ने। किनभने मत घटाउने, पार्टीलाई बदनाम गर्ने प्रतिनिधिलाई राखेर केही काम छैन। गल्ती गरेको छ, गन्हाएको छ, दुनियाँले छि: छि: गरेको छ भने हामीले त्यसलाई संरक्षण गर्नु हुँदैन।’

जनप्रतिनिधिलाई प्रशिक्षित गर्न जेठ १८ र १९ गते प्रशिक्षण राखिएको जानकारी उनले दिए। पुनले यसअघि जितेका ५० प्रतिशत जनप्रतिनिधिले किन निर्वाचन हारे भन्नेबारे कारण खोजिने बताए। पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको बाहक हुनुका नाताले अहिले पनि एजेण्डाका आधारमा माओवादी मुलुकको पहिलो पार्टी भएको दाबी गरे। शान्तिपूर्ण प्रतिस्पर्धामा पार्टीको अनुहार जनप्रतिनिधिमा देखिने भएकाले रातदिन जनताका पक्षमा काम गर्न उनको सुझाव थियो।

उनले आफूहरु संख्याका हिसाबले पनि पहिलो पार्टी बन्ने गरी काम गरिरहेको भन्दै सबैलाई त्यही रुपमा अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए। ‘एजेण्डाका आधारमा माओवादी पहिलो पार्टी बन्दा मात्र राजनीति सुल्टो हुन्छ। हाम्रो पहिलो बन्ने कोसिस छ’, उनले भने, ‘माओवादीले अरुले भनेजस्तो हराउने, बिलाउने र मासिने पार्टी होइन।’ संख्यामा कहिले सानो र कहिले ठूलो हुने भए पनि स्थानीय निर्वाचनले माओवादी नसक्किने स्पष्ट सन्देश दिएको दाबी गरे।

एमाले अध्यक्ष केपी ओलीले ३० वैशाखपछि माओवादी सक्किने र गुगलमा मात्र भेटिने टिप्पणी गरेको चर्चा गर्दै पुनले माओवादीले अघिल्लो पटक भन्दा धेरै सुधार गरेको बताए। पुनले यसपटकको स्थानीय निर्वाचनमा आफूहरुले ‘व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ भनेर भोट मागेको भन्दै जनताको आर्थिक अवस्था बदल्नुपर्नेमा जोड दिए।

‘जनताको आर्थिक अवस्थामा सुधार भएन र जनताको जीवनस्तर माथि उठेन भने राजनीतिक उपलब्धीको अर्थ हुँदैन’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.