|

धनकुटा : पूर्वको पर्यटकीय क्षेत्रका रूपमा रहेको भेडेटार, नमस्ते झरना र नाम्चेका होटलको अनुगमन गरी स्टिकर टाँसिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले होटलको स्तर अनुसारका स्टिकर टाँसेको हो। कार्यालयले ३७ वटा होटलमा गरेको पहिलो चरणको अनुगमनमा ५० प्रकारमा मापदण्ड बनाई त्यसको पालनाको आधारमा स्टिकर टाँसेको हो।

होटललाई सामान्य, सन्तोषजनक, उत्तम र अति उत्तम गरी ४ भागमा विभाजन गरी स्टिकर टाँस गरिएको हो। होटल तथा रेष्टुराँ स्तरीकरण सम्बन्धी निर्देशिका २०७४ बमोजिम अनुगमन गरी वर्गिकरण गरिएको हो। उक्त निर्देशिका अनुसार खाद्य स्वच्छताको ५० प्रकारको मापदण्डको आधारमा प्राप्तांक ९० भन्दा बढी आएमा ३ तारा सहित अति उत्तम लेखिएको हरियो स्टिकर, प्राप्तांक ८० देखि ८९ आएमा दुई तारा सहित उत्तम लेखिएको हरियो स्टिकर, प्राप्तांक ६५ देखि ७९ आएमा एक तारा सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर र प्राप्तांक ५० देखि ६४ आएमा सामान्य लेखिएको पहेँलो स्टिकर टाँस गर्ने गरिएको छ।

अनुगमनमा ५ वटा उत्तम, २१ वटा सन्तोषजनक र ११ वटा सामान्य स्तरको मापदण्द पूरा गरेको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख अनुप हलवाईले जानकारी दिए। अति उत्तम मापदण्ड पूरा गरेको होटल भने एउटा पनि नभेटिएको प्रमुख हलवाईले जानकारी दिए।

उत्तमको मापदण्ड पूरा गरेका होटलमा होटल अरुण भ्याली, नेपालय बुटिक होटल, बराह भेडेटार मल्टी प्रपोज प्रालि, हिमालय होटल एण्ड रेण्टुरेण्ट र होटल माउण्ट एभरेष्ट रहेको खाद्य निरीक्षक सुशील कोइरालाले जानकारी दिए। उनले अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, साँगुरीगढी गाउँपालिका, इलाका प्रहरी कार्यालय भेडेटार, होटल एसोसिएसन अफ भेडेटार, व्यवसायी, उपभोक्ता र पत्रकारको टोलीले अनुगमन गरेको जानकारी दिए। 

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष तथा होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले यस्ता अनुगमन निरन्तर हुनुपर्ने बताउँदै यसले समग्र भेडेटारमा रहेका होटललाई सुधार गर्दै पर्यटकलाई अझ राम्रो र गुणस्तरीय सेवा दिनका लागि सहयोग पुग्ने बताए।

उनले भने‚ ‘होटलहरूको सरकारी निकायबाट यस्ता अनुगमन निरन्तर हुनुपर्छ यसले गर्दा सुधारको मौका मिल्नेछ।’ सरकारी निकायबाट भएका यस्ता अनुगमनले आफूहरूलाई समेत सुधार गर्दै जानका लागि ज्ञान र हौसला मिलेको होटल व्यवसायीको भनाइ छ।

यस्ता अनुगमन निरन्तर हुँदा होटललाई सुधार गर्दै पर्यटकलाई अझ राम्रो र गुणस्तरीय सेवा दिन सहयोग पुग्ने होटल एसोसिएसन भेडेटारका सचिव एवं होटल माउट एभरेष्टका सञ्चालक तुमराज लिम्बूले बताए। उनले अनुगमनको पाटोलाई सहजीकरण गर्न सधैं तयार रहेको बताउँदै होटल जति राम्रो भयो त्यति बढी पाहुना आउने हुनाले मापदण्ड पूरा गर्न सधैँ लागिपर्ने प्रतिबद्धता जनाउन होटल व्यवसायी लाग्नुपर्ने बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले आगामी दिनमा समेत नियमित अनुगमन गर्ने जनाएको छ। बाह्रै महिना चिसो हुने भेडेटार र आसपासको क्षेत्रमा वार्षिक २ लाखभन्दा बढी आन्तरिक र बाह्य पर्यटक घुम्नका लागि आउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.