|

बैतडी : सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजारबढी परिवारको लगत संकलन गरिएको छ। जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५ हजार ५७१ परिवारको लगत संकलन गरिएको हो।

गत वैशाख ६ गतेदेखि ४५ दिनसम्म गणक र सुपरिवेक्षकहरू घरघरमा पुगेर लगत संकलन गरेका थिए। उनीहरूले संकलन गरेको तथ्यांक स्थलगत र जाँचबुझको कार्य सकिएको पन्तले बताए। उनले भने, “गणक र सुपरिवेक्षक गरेको तथ्यांक संकलन र त्यसपश्चात स्थलगत कार्य सकेर छुटफुट केही भए त्यसको जाँचबुझ गरेर केन्द्रीय तथ्यांक विभागमा पठाइसकेको छौं।”

गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइएको छ।

यस्तै, कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्यांक सङकलन गरिएको छ। कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क संकलन गरिएको कार्यालयले जनाएको छ। 

कार्यालय प्रमुख पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना भएको छ।  दोगडाकेदार गाउँपालिका, पुचौडी, दशरथचन्द,पाटन नगरपालिकाका १६, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५, सुर्नया, पञ्चेश्वर गाउँपालिकाका १२ र शिवनाथ गाउँपालिकाका ९ स्थानमा गणना कार्य भएको हो।  

गणनाअन्तर्गत जिल्लामा १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ। जिल्लामा दश स्थानीय तहमा रहेका ८४ वटै वडाका १४४ क्षेत्रमा गणना गरिएको जिल्ला कृषिगणनाका कार्यालयले जनाएको छ। गणनाका लागि बैतडीमा १४ सुपरीवेक्षक र ५४ गणक गरेर ६८ जनाको जनशक्ति परिचालन गरिएका थिए। 

बैतडीमा चैत १ गतेबाट जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरेर काम शुरु भएको थियो। नेपालमा २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना हुँदै आएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.