|
तस्वीर : पार्थ मण्डल

झापा : झापामा मतदाता नामावली दर्ता गराउनेको घुइँचो लागेको छ। स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता निर्वाचन आयोगले पुनः असार १ गते खोलेसँगै झापामा नाम दर्ता गराउनेको घुइँचो लागेको हो।

झापामा एकै पटक चार ठाउँमा मतदाता नामावली दर्ता भइरहेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए। जिल्ला निर्वाचन कार्यालय झापा, जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रशासन कार्यालय दमक र इलाका प्रशासन कार्यालय गौरीगञ्जमा नामावली दर्ता भइरहेको सूचना अधिकारी न्यौपानेले बताए।

निर्वाचन कार्यालय परिसरमा भने दर्ता गराउनेको अत्यधिक भिड लागेको छ। नाम दर्ता गराउने स्थानदेखि सडकसम्म दर्ताका लागि आउनेहरूको लामो लाम लागेको छ।

तीन दिनमा झापामा ७०८ महिला र ६९३ पुरुष गरी ८०१ जनाले नाम दर्ता गराएको उनले बताए। पहिलो दिन महिला २०१, पुरुष १६६, दोस्रो दिन २५९ महिला, पुरुष २६९ र तेस्रो दिन महिला २४८, पुरुष २५८ ले दर्ता गराएको उनले बताए।

उनका अनुसार मतदाता नामावलीमा दर्ता गराउनुका साथै मतदाता नामावली विवरणमा भएका त्रुटि सच्याउन, ठेगाना परिवर्तन, मतदानस्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउनसमेत काम भइरहेको छ।

सबैभन्दा बढी भीड निर्वाचन कार्यालयमा देखिएको उनले बताए। उनले भने, ‘पहिलो दिन दुई स्थानमा दर्ता कर्मचारी खटाइएको थियो, अत्यधिक भीड त्यसमाथि जनशक्ति अभावका कारण कार्यालयलाई व्यवस्थापन गर्न समस्या भएको थियो।’

महिला, पुरुष र अशक्तको गरी तीनवटा लाइनबाट नाम दर्ता भइरहेको छ। भीड बढ्दै गएपछि दोस्रो दिन तीन स्थानमा र तेस्रो दिन चार स्थानमा दर्ता कर्मचारी खटाउनु परेको उनले बताए। त्यसका लागि अन्य कार्यालयबाट जनशक्ति मगाएर दर्तालाई सहज बनाउनु परेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.