|

काठमाडौं: देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। 

चितवनको रत्ननगर नगरपालिका ९ गणेशचोकमा शनिबार बिहान सवारी साधनको ठक्करबाट साइकलयात्री रत्ननगर नगरपालिका १० का ३७ वर्षीय उमेश दराईको मृत्यु भएको छ। गम्भीर घाइते दराईको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। 

टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले  बिहान ५ बजे साइकलयात्री दराईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ। 

यसैगरी, भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थली मनहरा चोकमा गएराति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। 

दुर्घटनामा परी मोटरसाइकल चालक ललितपुरको धापाखेलका २१ वर्षीय विजय श्रीमालीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका बिजयको उपचारका क्रममा कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा सवार ललितपुरकै हात्तीवनका २२ वर्षीय रक्षक क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ९८ प ४२७० नम्बरको मोटरसाइकल गएराति १२ बजे अनियन्त्रीत भई पल्टिएको प्रहरी वृत्त थिमीले जनाएको छ। 

यस्तै, रूपन्देहीको कञ्चना गाउँपालिका ४ बुद्धचोक स्थित लुम्बिनी फायरलाईन सडक खण्डमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्। मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीय ठडबहादुर बिक घाइते भएका प्रहरीले जनाएको छ।

शुक्रबार बेलुकी करिब साढे ८ बजे रूपन्देहीको लुम्बिनी फायर लाइन सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ  जाँदै गरेको लु ८ प ७४७४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको हो। मोटरसाइकल चालक फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुर रूपन्देहीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.