निर्णायक खेल आइतबार

|

घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्ध पाँच खेलको टी–२० सिरिज २–२ को बराबरीमा ल्याएको छ। लगातार दोस्रो जित निकाल्ने क्रममा भारतले शुक्रबार दक्षिण अफ्रिकामाथि ८२ रनको जित निकाल्यो।

टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरले ६ विकेट गुमाएर १६९ रन बनाएको थियो। १७० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६.५ ओभरमा ८७ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाले टी–२० आईमा बनाएको यो सबैभन्दा कम योगफल हो। यसअघि दक्षिण अफ्रिकाको सबैभन्दा कम योगफलका रूपमा २०२० मा अष्ट्रेलियाविरुद्ध ८९ रन थियो।

दक्षिण अफ्रिका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। दक्षिण अफ्रिका रास्सी भान डर डुसेनले २० बलमा २ चौका सहित सर्वाधिक २० रनको योगदान दिए। ओपनर क्विन्टन डि कक १३ बलमा २ चौकासहित १४ रनमा रन आउट भए।
हेनरिक क्लासेन ८, डेविड मिलर ९, मार्को यानसन १२, केशव महराज शून्य, एनरिच नोर्किया एक र लुन्गी एनगिडी ४ रनमा आउट भए।

आवेश खानले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। युजभेन्द्र चहलले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। हर्षल पटेलले २ ओभरमा ३ रन खर्चेर १ विकेट लिए। अक्षर पटेलको नाममा १ विकेट रह्यो ।

त्यसअघि राजकोटमा पहिलो ब्याटिङ गरेको भारतले १६९ रन बनाएको थियो । भारतका दीनेश कार्तिकले २७ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए । कार्तिकको पहिलो टी–२० आई अर्धशतक हो। आफ्नो उच्च लयलाई कार्तिकले निरन्तरता दिँदै उत्कृष्ट ब्याटिङ गरेका हुन्।

अलराउण्डर हार्दिक पाण्ड्या ३१ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनको योगदान दिए। कमजोर प्रदर्शन गरेको भारतलाई पाँचौं विकेटका लागि हार्दिक र दीनेशले ३३ बलमा ६५ रनको साझेदारी गरेका थिए । भारतको शीर्षक्रम ब्याटिङ भने राम्रो हुन सकेन। कप्तान तथा विकेटकिपर ऋषभ पन्त पुन: खराब प्रदर्शन गर्दै आउट भए।

दक्षिण अफ्रिकाले सुरुवातमा लगातार दुई खेलमा ७ विकेट र ४ विकेटले विजयी भएको थियो। भारत दोस्रो खेलमा ४८ रनले विजयी भएको थियो। पाँचौँ तथा निर्णायक खेल आइतबार हुनेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.