|

सुर्खेत : फोहोर व्यवस्थापनको विषयमा जिल्लाका दुई स्थानीय तहबीच विवाद उत्पन्न भएको छ। बराहताल गाउँपालिकाले आफ्नो वनक्षेत्रमा वीरेन्द्रनगर नगरपालिकाले जथाभावी फालेको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो।

वीरेन्द्रनगर–१ को पश्चिम र बराहताल–१० को पूर्व सीमाना जोडिएको छ। वीरेन्द्रनगर नगरपालिकाले वडा नं. १ को तारेभिर नजिकै फोहोर फाल्छ। सोही स्थानमा फोहोर फाल्दा आफ्नो क्षेत्रमा परेको भन्दै बराहताल गाउँपालिकाको वडा नं. १० ले आपत्ति जनाएको हो। वीरेन्द्रनगरले फोहोर फाल्ने गरेको आधा भू–भाग आफ्नो क्षेत्रमा पर्ने बराहतालको दाबी छ ।

जानकारीविना आफ्नो वन क्षेत्रमा फोहोर फाल्न थालिएपछि जेठ ३१ गते बराहताल–१० का बासिन्दाले जिल्ला प्रशासन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको ध्यानाकर्षण गरेका थिए। बराहताल–१० का वडा अध्यक्ष हरिलाल सलामीले वीरेन्द्रनगर नगरपालिका समस्याको समाधान खोज्न तयार नभएको बताए। अघिल्लो कार्यकालदेखि नै आफूले यो विषयमा आवाज उठाउँदै आए पनि समाधान नखोजिएको उनी बताउँछन् ।

जथाभावी फोहोर विसर्जन गर्दा दुई पालिकाबीच द्वन्द्व चर्किने देखिएको बराहतालका स्थानीय बताउँछन्। वन क्षेत्रमा  फोहोर फाल्दा त्यसको असर आफूहरूलाई परिरहेको उनीहरूको गुनासो छ । सहमति र सहकार्यविना मनपरी फोहोर फाल्ने र जलाउने गर्दा निकै प्रदूषण भइरहेको वडा अध्यक्ष सलामीले जनाए। वडा नम्बर १० को सिमलचौर, पाती, धुम्के र फौजापानी लगायत क्षेत्र फोहोरका कारण दुर्गन्धित भएका छन्।

साउन १ गतेसम्म फालिएको फोहोरलाई सम्बन्धित ठाउँमा व्यवस्थापनका लागि बराहतताल–१० ले वीरेन्द्रनगरलाई आग्रह गरेको छ। तोकिएको समयमा व्यवस्थापन नगरे आगामी दिनमा फोहोर फाल्न अवरोध गर्ने चेतावनी दिइएको छ। ‘अब पनि चासो नदिए फोहोर फ्याँक्न नदिने गरी अवरोध गर्छौँ’, वडाध्यक्ष सलामी भन्छन् ।

बराहताल–१० सँग साँधसीमा जोडिएको वीरन्द्रनगर–१ का अध्यक्ष दिनेश खत्रीले फोहोर व्यवस्थापनमा नगरपालिकाले खासै चासो नदिएको बताए । कुहिने नकुहिने फोहोरसमेत छुट्याउने नगरेको उनी बताउँछन्। प्लाष्टिकजन्य पदार्थ दैनिक जलाइँदा त्यसको असर नजिकका बस्तीमा परिरहेको खत्रीले जनाए। केही दिन पहिले वीरेन्द्रनगर–१ का बासिन्दाले पनि फोहोर जथाभावी फाल्दा दुर्गन्ध फैलिएको भन्दै नगरपालिको विरोध गरेका थिए। उनीहरूले सोही कारण एक दिन फोहोर ढुवानीमा अवरोध गरेका थिए।

वीरेन्द्रनगर नगरपालिकाले भने फोहोर व्यवस्थापनमा केही समस्या रहे पनि आफ्नै क्षेत्रमा फोहोर विसर्जन गर्दै आएको दाबी गरेको छ। फोहोर फाल्ने स्थान वीरेन्द्रनगरकै सामुदायिक वन क्षेत्र रहेको नगरप्रमुख मोहनमाया ढकालले बताइन्। यसबारे वास्तविकता बुझ्न तत्कालै अनुगमन गर्ने उनले जनाइन् ।

‘बराहताल गाउँपालिकाको जंगलमा फालिएको वा के भएको हो भन्नेबारे एकपटक अनुगमन गर्छौँ’, उनले भनिन्, ‘फोहोरको दुर्गन्धले असर गरेको छैन भन्न सकिन्न, यससम्बन्धी जानकारी लिएर आवश्यक कदम चाल्छौँ।’ उनले वीरेन्द्रनगर–१ का स्थानीयका माग सम्बोधन हुनेगरी फोहोर व्यवस्थापनलाई व्यवस्थापन गर्न लागेको जानकारी दिइन्।

‘स्थानीयको माग सम्बोधन गर्न नगरपालिका तत्पर छ,’ उनले भनिन्, ‘हामीले फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छौँ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.