|
फाइल

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानबाट विभिन्न हातहतियारसहित चार जना पक्राउ परेका छन्।

महालक्ष्मी नगरपालिका-४ इमाडोल पिपलबोटबाट १ थान पेस्तोल र सोको २ राउण्ड गोली सहित सोही नगरपालिका-८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३-०२-०१५ प ६५४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो।  

यस्तै,  धादिङको खनियावास गाउँपालिका-२ अक्थलीबाट म्याग्जिन सहितको १ थान पेस्तोल र १ थान खुकुरी सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही गाउँपालिका-२ झार्लाङ घर भएका २५ वर्षीय सुनिल तामाङ र सोही ठाउँ बस्ने २५  वर्षीय अविनाश तामाङ रहेका छन्। उनीहरूले पेस्तोल राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा झोलामा लुकाई  राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका-९ थापाचोक बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारीलाई १ थान पेस्तोल र १ सोको १ राउण्ड गोली सहित गएराति प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादको कारण अधिकारीले पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.