|

काठमाडौँ : सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ।

बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रूपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मद्देनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ।

नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनलाई समेत निरन्तरता दिएको छ। साथै सम्भावित विपद् आइपरे खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको छ। यद्यपि, प्रशासनले नदीको बहाव बढ्दो क्रममा देखिए पनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको जनाएको छ।

कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमवारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टायता भने बढ्दो क्रममा छ। पूर्वी भेगमा जारी अविरल वर्षासँगै कोशी नदीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख २६ हजार ५०५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ।

ब्यारेजका १६ वटा ढोका खोलिएका छन्। नदीको बहाव बढ्दो क्रममा रहे पनि सबै तटबन्ध तथा स्पर सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले कहीँकतै कटानको खबर नरहेको जानकारी दिए। प्रजिअ यादवले तटीय क्षेत्रका बासिन्दालाई भने सतर्कता अपनाउन आग्रह गरेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.