|

जनकपुर : दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० जलमग्न भएको छ ।

पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती डुबानमा परेको हो। उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले अधिकांश घरमा पानी जमेको जानकारी दिए।

वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र हुलाक कार्यालयलगायतका सरकारी कार्यालय परिसरमा पानी जमेको छ।

वर्षाका कारण बजारमा चहलपहल घटेको छ। व्यापार व्यवसायी प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण सरकारी कार्यालयमा आउने सेवाग्राही घटेका छन्। 

यसअघीका नगरप्रमुखलाई पानी निकासका लागि पहल गर्न माग गर्दा बेवास्ता गरेकाले आफूहरू यस्तो समस्या व्यहोर्न बाध्य भएका साहको गुनासो छ। उनले आफूहरू भर्खरै निर्वाचित भएकाले दिगो समाधानका लागि प्रयास गर्ने बताए। 

वर्षाका कारण जनजीवन प्रभावित भए पनि अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। बाढीजन्य विपद्का कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको उनले बताए। 

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले कमला नदी र रातुखोलामा पानीको सतह बढ्नसक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासी सचेत हुनुपर्ने बताए।      

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.