|

म्याग्दी :  

असारै खाउँला दुधिलो मकै, साउनमा खाउँला खिर,
घरमा छैन शितलु वचन, मनमा छैन थिर।

छुपुमा छुपु खेतमै रोपुँ, हातको बीउ छउञ्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू रहुञ्जेल

लोकगायिका हरिदेवी कोइरालाले गाएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छोडेका छन्। 

रोपाइँमा दिनभर थाकेका बाउसे र रोपाहार एक अर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुखकष्ट र थकाइ बिर्सन्थे। खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्थे। तर ती दिन अब इतिहास बनेको म्याग्दीकी लोकगायिका धनकुमारी थापाले बताइन्।

मानो खाएर मुरी उब्जाउने भनिने असार महिनामा पहिले जस्तो रोपाइँको रौनक र उल्लास अहिले देखिँदैन। कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि  रैथाने प्रविधि लोप भइरहेका छन्। हलो–जुवा र गोरुको ठाउँ ‘मिनी ट्रिलर’ हलोले लिएको छ।

‘पहिले धान राम्रो फलोस् भनेर बराहा र सिमे–भुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतको भाकासँगै धान रोप्न सुरु गर्थे,’ बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले भने,  ‘तर अहिले यी सबै हराउँदै गएका छन्। रोपाइँ सुरु भयो, मिनी टेलर चले, ट्र्याक्टर गुडे, तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो।’

नयाँ पिँढीले असारे गीत सुनेकै छैन। उनीहरूलाई गाउन आउँदैन। रोपाइका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्नि हुँदा उत्सव जस्तै मानिने असारे रोपाइँको रौनक घटेको मंगला गाउँपालिका २ रणबाङका हरिकृष्ण पौडेलले बताए।

पछिल्लो सयममा रोपाइँको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको गायक तथा नेपाली कांग्रेस म्याग्दीका नेता नेत्रबहादुर महतले बताए। ‘रोपाइँमा त सुनिन छाड्यो, छाड्यो’, उनले भने ‘आजभोलि रेडियो, टीभीबाट समेत असारे गीत सुनिँदैन।’

पहिले रेकर्ड गरिएका गीत प्राविधिका कारण संग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारले साँस्कृतिक गीत भन्दा पनि व्यावसायिक गीतलाई प्राथमकिता दिँदा समस्या भएको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर राकेश शर्माले बताए। 

नेपाली लोकगीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइन्छन् तर यस्ता गीतहरुको संरक्षण र सम्वर्धन हुन सकेको छैन। यस्ता गीतहरुलाई संरक्षण गर्न अति आवश्यक रहेको स्थानीय वृद्धवृद्धा बताउँछन्।

सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने 
जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने।
 

यस्तै–यस्तै शब्दहरुमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको बगरफाँटकी ६८ वर्षिया यामकुमारी शर्मा झलझली सम्झिन्छिन्। ‘बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसके’ शर्माले भनिन्। अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन्। धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली ठट्यौली, मायाप्रितिका कुरा पनि समेट्ने गरेको उनले भनिन्।

अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाका चिन्ता व्यक्त गर्छन्। ‘कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो,’ बेनी नगरपालिका ४ का कृषक नारायण पौडेलले भने ‘तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन।’

कृषिसँग नेपालीहरुको जीवन पद्धति पनि जोडिएको छ। ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्दा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलन भएका बूढापाका बताउँछन्। यिनै प्रचलनको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको बेनीका पुराना लोक कलाकार प्रकाश  श्रेष्ठले बताए। असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ। ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.