|

हेटौंडा : पछिल्लो समय मुलुकमा बढ्दै गएको महँगीले बागमती प्रदेश सरकारको करिव पाँच सय बढी योजना अलपत्र परेको छ।

निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिले गर्दा प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेर निर्माण गर्न ठेक्का सम्झौता गरेको सहित अन्य साना योजनाहरू पनि अलपत्र परेका हुन्।

बजारमा बढेको महँगी अनुसार सरकारले मूल्य समायोजन नगरेको भन्दै निर्माण व्यवसायीले काम नगर्दा प्रदेश सरकारको साना तथा ठुला योजनाहरू अलपत्र परेका छन्। सरकारले मूल्यवृद्धि समायोजन नगरेको भन्दै निर्माण व्यवसायीहरूले प्रदेश सरकारसँग काम सम्पन्न गर्न ठेक्का लिइसकेको आयोजनाहरूको काम रोकेका हुन्।

बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहको अनुसार कतिपय योजना ठेक्का लिएर पनि सुरु गरिएको छैन भने कति योजना सुरु गरेर बीचमै अलपत्र छोडिएको छ। प्रवक्ता सिंहले चैतको अन्तिमबाट नै प्रदेश सरकारको कतिपय योजनाहरूको निर्माण कार्य रोकिएको बताए। ‘महँगीको मारमा सरकारकै योजनाहरू परेका छन्। चैतबाट धेरै निर्माण व्यवसायीले महँगीकै कारण सरकारको काम नै रोकिदिएका छन्। अहिलेसम्म ठ्याक्कै कति  योजना महँगीकै कारण रोकियो भन्ने तथ्यांक पनि आइसकेको छैन’,उनले भने।

सिंहको अनुसार हालसम्म पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले मात्रै महँगीले गर्दा १० वटा योजना प्रभावित भएको जनाएको छ। कार्यालय मातहतबाट भइरहेको मुडे बाघखोर कालापानी सडक स्तरोन्नति आयोजना, दोलखा, बाह्रबिसे धुस्कुन पिस्कर सडक स्तरोन्नति आयोजना, सिन्धुपाल्चोक, किलो अत्तरपुर

लिसंखु सडक आयोजना, सिन्धुपाल्चोक ,चौतारा सिपाघाट कात्तिके काठमाडौं (झ्याड़ी–देउराली खण्ड) सडक, सिन्धुपाल्चोक,सिताकोथान जुँगुँ झ्याँकु गाउँपालिका सडक स्तरोन्नति आयोजना, दोलखा,नौबिसे चौतारा सडक, सिन्धुपाल्चोक, भटमासे जिलु सडक, दोलखा,चर्नावती खोला सडकपुल आयोजना, दोलखा  र चरिकोट कालिञ्चोक (देउराली कुरी खण्ड) सडक, दोलखा निर्माण कार्य महँगीले गर्दा प्रभावित बनेको छ।

त्यस्तैगरी, पुर्वाधार विकास कार्यालय रामेछापबाट भइरहेको ७ वटा बहुवर्षीय योजनाको निर्माण कार्य मुल्यवृद्विले गर्दा अलपत्र परेको छ। खानी खोला पुल,मन्थली गल्भा चौरी सडक,खिम्ती बेतली धारापानी सडक,कालोचौतारा सिंगटी गल्भ सडक,सिक्टा भीरपानी सडकखण्ड,लिखु करिडोर र मन्थली गाईखुरा

सडकखण्डको  निर्माण कार्य महँगीलेगर्दा हुन सकेको छैन। प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले पनि बहुवर्षीय योजनामा रहेर काम भइरहेको १४ वटा योजनाहरूको निर्माण कार्य महँगीले गर्दा हुन नसकेको जनाएको छ।

कार्यालयले क्यान खोला सडक पुल, क्यनेस्वर क्वाटर, सिन्धुली,आरुबोटे खोला पुल, सुनकोशी ,मरीण खोलामा पक्कि पुल (हरिहरपुर गा.पा-२ को वाखफर र वडा- ४ को हाकपुर जोड्ने सडक ), सिन्धुली ,कमलामाई नगरपालिका-९ र १० जोड्ने सडकको कमला नदिमा पक्की सडक पुल, सिन्धुलीगढी मझुवा

काफलचौरी दुम्जा सडक आयोजना, सिन्धुली,भिमस्थान चकमके उदयपुर कटारी सडक(दोस्रो खण्ड), सिन्धुली, भिमस्थान चकमके उदयपुर कटारी सडक,घाँसा कल्लेरी मालुखोला सडक दोलखा, सुकुटे चापागांउ मेलडाडा थोकार्पा भन्ज्याङ्ग सडक, सिन्धुपाल्चोक,फिल्मसिटी एक्सेस सडक(कालोपत्र कार्य), दोलखा,जगाडी धनसरि सडक कालोपत्रे, सिन्धुली ,बौलाखोला पक्कीपुल निर्माण कनपा,पातीपरान खोला स्ल्याब कजवे, कमला नगरपालिका र लुङ्लिटार दुम्की ठाक्ले बाँसकटेरी सडक, सिन्धुलीको योजना अलपत्र परेको जनाएको छ।

पुर्वाधार विकास कार्यालय चितवनले पनि महँगी र अन्य  विविध कारणले चालू आर्थिक वर्षमा बहुवर्षीय तथा साना १४१ वटा योजना निर्माण कार्य सम्पन्न गर्न नसक्ने मन्त्रालयलाई लिखित पत्र नै लेखेर जानकारी गराएको छ।

प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले पनि महँगीले १८० वटा योजनाहरू प्रभावित  भएको भएपनि ९ वटा बहुवर्षीय योजना बढि प्रभावित बनेको जनाएको छ।

कार्यालयका  प्रमुख मदन आलेको अनुसार पाल्पाभन्ज्याङ साधभन्ज्याङ सडक, रुबिभ्याली गाउँपालिका पुग्ने बोराङ–सेर्तुङ सडकखण्ड,.पुष्पलाल प्रदेश चक्रपथ,.कागेश्वरी गोठडाडा खेस्ते वीरबहादुरको घर वायुगाउ टुक्टिङ कोहलिखर्क सडक, नीलकन्ठ ३ नवदुर्गा गणेश मन्दिर थोपलखोला र नीलकन्ठ १२ बिचको पक्की पुल,लिस्ने खोला पुल, कालिदह पुल सिद्दलेख १ र ५ जोड्ने,दार्खाखोला पुल, सान्कोश तिप्लिङ सडक र नेत्रावती १ र गङगाजमुना ४ जोड्ने साप्टारी साल्दुङ झोलुंगे पुल निर्माण कार्य महँगीले गर्दा प्रभावित बनेको बताए।

उनले महँगीले गर्दा पुर्ण रुपमा काम नै रोकिएको नभए पनि काममा धेरै नै ढिलासुस्ती भएको बताए। उनको अनुसार विशेषगरि पुल निर्माणको काम बढि प्रभावित बनेको छ। पुलको लागि रड र सिमेन्ट  चाहिने र तर पछिल्लो तीनै वस्तुको मुल्य अत्याधिक बढेकोले पुल निर्माणको काम बढि प्रभावित बनेको उनको भनाई छ।

 आलेले भने, ‘महँगीले गर्दा काम नै ठ्याक्कै रोकिएको चाँहि छैन। तर,कछुवाको भन्दा पनि सुस्त गतिमा काम भइरहेको छ। ’

तीन वर्षदेखी सिन्धुलीको कमलानदी पुल निर्माण गरिरहेको सुर्या एण्ड सन्स प्रालिका डाइरेक्टर निमि श्रेष्ठ निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिले काम गर्न सकस भइरहेको बताउँछन्। सम्झौता गरिसकेपछि सरकारसँग थप बजेट पनि माग्न नमिल्ने र सम्झौता गरेको बजेटमा काम सम्पन्न पनि गर्न नसक्ने अवस्था रहेको उनको दुखेसो छ।

‘हामीले  तीननवर्षअघि ठेक्का लिँदा निर्माण सामाग्रीको मुल्य जुन थियो,अहिले त्यो दोब्बरले बढेको छ। मुल्य बढ्दा हामिलाई निर्माण सामाग्री किन्न समस्या भयो’, उनले भने। श्रेष्ठले पुलका लागि आवश्यक पर्ने रडमा अत्याधिक मुल्यवृद्धि भएको बताए।

उनले आफूले पुल निर्माणको ठेक्का लिँदा ६८ रुपैयाँ प्रतिकिला रहेको रडको मुल्य अहिले एकसय ३० रुपैया पुगेको बताए। ‘रडमा भएको मूल्यवृद्धिले हाम्रो ढाँड नै सकेको छ। रडको मुल्य बढेकोले किन्न सक्ने अवस्था भएन। त्यसैले पुल निर्माण कार्य सुस्त भइरहेको छ’,उनले भने,‘मैले ७५ रुपैयाँ किलो हुँदासम्म मात्रै रड किनेको  थिए। त्यसयता रड किनेर पुलमा हाल्न सकेको छैन। ’

उनले निर्माण सामाग्रीमा एको मुल्यवृद्धि सम्झौता भएको निर्धारित समयमा काम सम्पन्न  गर्न पनि नसकेको बताए। सरकारले निर्माण व्यवसायीसँग जेठ १३ मा वार्ता गरेर व्यवसायीका समस्या सम्बोधन गर्ने सहमतिसमेत गरिसकेको छ। सरकारले गरेको सहमति अझै कार्यान्वयनमा नआएकोले पनि विकास निर्माणले गति लिन नसकेको निर्माण व्यवसायीहरू बताउँछन्।

सरकारले सार्वजनिक खरिद नियमावलीमा १२ औं संशोधन गरेर व्यवसायीको माग सम्बोधन गर्ने आश्वासन दिएको भएपनि व्यावहारीक कार्यान्वयन नहुँदासम्म विकास निर्माण ठप्प नै हुने निर्माण व्यवसायीहरूको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.