जसपाकाे एकल अध्यक्ष बन्ने प्रयास असफल

|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) सहमतिमै विभाजन हुने भएको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको सहमतिअनुसार पार्टीबाट अलग हुने भएका हुन्।

यादव र भट्टराईबीच गालीगलौजमा उत्रनुभन्दा सहमतिमै अलग बाटोमा लाग्ने सहमति बनेको जसपा नेता प्रदीप यादवले बताए। 

उनले भने, ‘उहाँहरूबीच सहमतिमै अलग हुने समझदारी बनेको छ। कसैलाई दोष देखाएर गालीगलौजमा उत्रनुभन्दा सहमतिमै अलग हुँदा राम्रो हुने निष्कर्ष बुधबारको बैठकबाट उहाँहरूले निकाल्नुभएको छ।’

अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईले अलग बाटो रोजे पनि अन्य नेताहरूलाई आफूखुसी बाटो लिने सहमति बनेको एक नेताले बताए। 

ती नेताले भने, ‘उहाँहरू सहमतिमै अलग हुने भएपछि अरू नेताहरूलाई पनि दबाब छैन। आफूखुसी निर्णय गर्नसक्ने वातावरण उहाँहरूले बनाउनुभएको छ। पार्टी अलग भएपछि उहाँहरूबीच सहकार्य हुन्छ भन्ने नै छ।’

दुई नेताहरूबीच अलग हुने सहमति बनिसक्दा समेत जसपा नेता मोहम्मद इस्तियाक राई भने त्यसबारे अनविज्ञता प्रकट गर्छन्। उनी भन्छन्, ‘हामी पार्टीलाई एकताबद्ध बनाएर जानुपर्छ भन्नेमै छौँ। तर उहाँहरूले के सहमति गर्नुभयो मलाई जानकारी छौँ।’

पार्टीमा एकलौटी चलेको भन्दै बाबुरामले अध्यक्ष यादवबीच मोर्चाबन्दीको गृहकार्य थालेको थिए। पार्टीमा बहुमत जुटाएर अध्यक्ष यादवलाई हटाएर अध्यक्ष बन्ने बाबुरामले योजना बनाएका थिए। 

तर पार्टीको विवाद निर्णायक मोडमा पुगेपछि कार्यकारिणी सदस्य  राजकिशोर यादव, महिन्द्रराय यादवलगायत साथ छोड्नसक्ने चर्चा सुरु भएको छ। उनीहरू बाबुराम निकट भए पनि पार्टी नै अलग बनाउने अवस्थामा साथ छाड्ने उपेन्द्र निकटस्थ नेताहरूको बुझाइ छ। 

उपेन्द्र पक्षले पार्टीमा आफ्नो बहुमत रहेको दाबी गदै आइरहेको छ। २१ सांसद र ३३ कार्यकारिणी सदस्य रहेको जसपामा बहुमत सदस्य आफूसँग रहेकाे उपेन्द्र पक्षको दाबी छ।

उपेन्द्र र बाबुरामबीच अलग हुने सहमति बन्दै गर्दा जसपा वरिष्ठ नेता अशोक राई भने अझै मौन छन्। पार्टीभित्रको विवादमा एमाले प्रवेशको हल्ला चलिरहेको बेलामा उनले अन्तिममा उपेन्द्र पक्षलाई नै साथ दिने नेताहरूको बुझाइ छ।  

शक्ति स्वार्थको कारणले टुटफुटमा गुज्रिएको मधेश केन्द्रित दलसँग हेलिएका बाबुरामले के गर्लान्? भन्ने आम चासोको बिषय बनेको छ। उनले यसअघि पार्टीभित्रको विवादलाई लिएर उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए। 

पार्टीबाट अल्पमतमा परेको बाहिरिन लागेका बाबुराम माओवादी केन्द्रमै मिसिन जानेसम्मको चर्चा चलिरहेको छ। 

नयाँ शक्ति पार्टीको नेतृत्व गरिरहेका बाबुराम उपेन्द्र नेतृत्वको संघीय समाजवादी फोरममा पुगेका थिए। संघीय समाजवादीले तत्कालीन राजपासँग एकता गरेपछि जसपा बनेको थियो। 

तर, जसपाबाट यसअघि नै महन्थ ठाकुर र राजेन्द्र महतो नेतृत्वमा राजपा नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन गरिसकेका छन्। अहिले पार्टी विभाजनको लागि बाबुरामसँग ४० प्रतिशत केन्द्रिय सदस्य वा सांसद नपुग्ने भएपछि सहमतिमै अलग हुने चलाखी पूर्ण सहमति बनाएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.