|

काटमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन्। 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। 

एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै आएका छन्। उक्त विषयमा संसदीय छानविन समिति बनाउन एमालेले माग गर्दै आएको छ। 

बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पु¥याएर मुलुकलाई हानी पु¥याएकाले त्यसको निश्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताए। 

बजेट निर्माणमा भएको कमजोरीको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरुको माग रहेको र एमाले संसदीय दलको बैठकले सो माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेकाले आफूहरूले बहिष्कार गरेको उनले बताए।  

त्यसलगत्तै एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए। 

एमालेको बहिष्कारका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाए। बैठकले अर्थमन्त्री शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.