उपभाेक्ता भन्छन् : देशमा सरकार छ भन्ने अनुभूति नै भएन

|

काठमाडौं : नेपाल आयल निगमले घाटामा गएको भन्दै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएर क्रमशः प्रतिलिटर १ सय ९९, १ सय ९२ र १ सय ९२ रूपैयाँ तोक्यो। यसको चौतफी विरोध र आलोचनापछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

अहिले पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रूपैयाँ कायम गरिएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित रुपमा सार्वजनिक सवारीसाधनमा समेत भाडादर घटेको छ।

तर यता अत्यावश्यक खाद्यवस्तुको मूल्य भने घटेको छैन। मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असमर्थ छ। उपभोक्ता हित संरक्षण मञ्च नेपालकी उपाध्यक्ष शुवर्णप्रभा गुरागाई पेट्रोलियम पदार्थको मूल्य घटेपछि स्वतः यातायातको भाडा घटेजस्तै खाद्यवस्तुको मूल्यवृद्धि पनि स्वतः घट्नुपर्ने भएपनि नघटेको बताउँछिन्। उनी यातायातमा जस्तै उपभोग्य सामग्रीको मूल्यमा पनि स्वतः घट्ने प्रणाली लागू गर्नुपर्ने माग गर्छिन्।

अत्यधिक मूल्यवृद्धिले उपभोक्ता अति मारमा परेको गुनासो उनले गरिन्। उनका अनुसार पहिला ४० रूपैयाँमा पाइने साग अहिले किलोको सय रूपैयाँभन्दा माथि पुगेको छ। सूर्यमुखी (सनफ्लावर) को तेल पहिला प्रतिलिटर २ सय २० रूपैयाँमा पाइन्थ्यो भने अहिले ३ सय ५० रूपैयाँभन्दा माथि पुगेकाे छ।

उनले अहिले चामल, दाललगायत सबै खाद्यवस्तुमा न्यूनतम सय रूपैयाँदेखि माथि बढेको जानकारी दिइन्। बजारमा पहिला काँचो तोरीको तेल प्रतिलिटर २ सय ४० रूपैयाँ थियो। अहिले बढेर ३ सय ८० रूपैयाँ पुगेको छ। ज्वानो प्रतिकिलो ४ सय थियो भने अहिले ५० रूपैयाँ बढेर ४५० पुगेको छ।

स्टिम जिरा मसिनो चामलको मूल्य किलोमा ५ रूपैयाँ बढेर ७५ रूपैयाँ पुगेको छ भने लङग्रेन बासमती चामल किलोमा १५ रूपैयाँले महँगिएर १४५ रूपैयाँ प्रतिकिलो बजारमा बिक्री भइरहेको छ।

‘पेट्रोलियम पदार्थको कारण देखाइ गाडी भाडा, खाद्यान्न सबैमा १०० प्रतिशत नै मूल्य बढेको छ। अब केही किन्न सक्ने अवस्था छैन,’ उपाध्यक्ष गुरागाईले भनिन्, ‘हामीले मूल्य घटाउन जति झकझक्याए पनि सरकारले केही गरेन।’ 

दशैंतिहारमा मात्रै बजार अनुगमन

स्थानीय सरकार हाेस् या जिल्ला प्रशासन कार्यालयलगायत अनुगमन गर्ने निकायले जब दशैंतिहार नजिकिन्छ, त्यस वेला झारा टार्न अनुगमन गरेजस्तो गरिन्छ।काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका लगायत स्थानीय तहले निकै काम गरेको देखाउन अनुगमन गरेको भन्दै तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्छन्।

तर यतिखेर अकासिएको मूल्यले सर्वसाधारणको भान्छामा खाद्यवस्तु छैन। तर न बजार अनुगमन भएकाे छ न ह्वारह्वारी बढेको मोल नै घटाइयो। सरकारले मोल घटाउने‚ अनुगमन गर्नेतिर कुनै चासाे देखाएकाे छैन।

उपभोक्ता हित संरक्षण मञ्च नेपालकी उपाध्यक्ष गुरागाई यति धेरै मूल्य बढे पनि सरकारले जनताका लागि केही राहत नल्याएको बताइन्। उनले भनिन्, ‘दशैं तिहारको वेला यसो अनुगमन गरेर एक/दुई वटा पसललाई कारबाही गरेको जस्तो गर्छ, तर कसले पैसाले मुखबुझो लगाउँछ र खल्ति भर्छन्। त्यसपछि अनुगमन नै हुँदैन, झन् अहिले त अनुगमनको कुरै छैन।’

सरकारले तत्काल मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने उनको माग छ। ‘सरकार भनेको हाम्रो अभिभावक हो, नागरिकको सुरक्षा दिने जिम्मेवारी लिएको हुन्छ, कर तिरेका छौँ तर सरकारले कर मात्रै लियो, सुरक्षा दिएन। जनतालाई सुरक्षित नगरेपछि सरकार भएको आभास पनि भएन,’ उनले भनिन्।

अहिले बजारमा बिचौलियले राज गरिरहेको उनले आरोप लगाइन्। ‘अहिलेको अवस्था हेर्दा मूल्यवृद्धि नियन्त्रण बाहिर छ, उपभोक्तालाई कसरी सहज हुन्छ भनी त्यसतर्फ सरकारले योजना ल्याउनुपर्‍याे,’ उनले भनिन्।

यसो भन्छ खाद्य व्यवस्था विभाग

अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण यहाँ पनि सबै वस्तुको भाउ बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दाबी गर्छ। यही मौकामा व्यापारीले आफूखुशी मूल्य बढाएर उपभोक्तालाई मारमा पारेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपानेले बताइन्।

‘यो मूल्यवृद्धि नियन्त्रण गर्न अनुगनकै आवश्यकता छ,’ उनले भनिन्। उनले सरकारी खाद्य कम्पनीबाट उपभोक्ताले खाद्य वस्तु किनेमा पसले र व्यापारीले आफैं मूल्य घटाउने दाबी उनले गरिन्।

उनले भनिन्, ‘कम्पनी लिमिटेडको उपत्यकामा थापाथली, नक्खुलगायत ठाउँमा खाद्यवस्तुका डिपो छन्, यहाँ तोकिएकै मूल्यमा खाद्यवस्तु पाइन्छ।’ 

उनले यी ठाउँमा सबै उपभोक्ता खाद्यवस्तु किन्न गए, निजी पसलमा ग्राहक घट्ने र त्यसपश्चात आफैं मूल्य घटाउने दाबी गरिन्। ‘जुन पसलले बढी पैसा लिएको छ, त्यहाँ ग्राहक गएनन् भने ऊ बढाएको मूल्य घटाउन बाध्य हुन्छ,’ उनले जिकिर गरिन्।

उनले बजार अनुगमनको सन्दर्भमा अहिले स्थानीय तह मातहतबाट हुनुपर्ने, कम्पनी लिमिटेड पनि सहभागी हुने र यसका लागि आवश्यक समन्वय गर्ने जानकारी दिइन्। 

मन्त्रीले भने : सबै ठाउँमा एकसाथ बजार अनुगमन गर्छौं

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले भएको खाद्यवस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सचेत रहेको बताएका छन्। उनले मूल्य नियन्त्रणका लागि सबै जिल्ला र प्रदेशमा निरीक्षण अधिकारी तोक्ने बताए।

उनले भने, ‘मन्त्रालयका निकाय, ७ वटै प्रदेशका सम्बन्धित मन्त्रालय, ७७ वटै जिल्ला र ७ सय ५३ वटै स्थानीय तहमा निरीक्षण अधिकारी तोक्न निर्देशन दिएको छु। तोकिएपछि एकसाथ सबै ठाउँमा बजार अनुगमन हुन्छ।’ बजार अनुगमन गरेपछि मूल्यवृद्धि नियन्त्रण गर्न सकिने र व्यापारी सचेत हुने उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.