|

बैतडी : बैतडीमा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा आएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको प्रतिकार्य योजना पारित गर्दै स्थानीय तहमा समेत कार्यान्वयन गर्ने निर्णय गरेको हो।

बैठकले मनसुनको प्रभाव बढ्दै गएका वेला जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि पहल गर्ने निर्णय गरेको पनि गरेको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडक अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार सञ्चालन गर्नेको फोन नम्बरसहितको सूची जिल्ला आपतकालिन सञ्चालन केन्द्रमा उपलब्ध गराउने निर्णय भएको छ।

गएको कात्तिकमा अविरल वर्षाका कारण बालीनालीमा क्षति बेहोरेका परिवारलाई कृषि ज्ञान केन्द्र र भेटरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सिगास गाउँपालिकाले आफ्नो पालिका क्षेत्रमा विपद् जोखिमको सर्भे गरेको तथ्यांकलाई पुनः रुजु गरी असार २१ गतेभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ। प्रत्येक महिना जिल्ला अन्तर स्थानीय तह समन्वय बैठक गर्ने निर्णयसमेत भएको जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले जनाएको छ।

यसका साथै विपदबाट घरबारविहीन हुन सक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले आश्रयस्थलको व्यवस्थापन गर्ने र त्यसको विवरण जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई उपलब्ध गराउने निर्णय भएको छ।

जिल्लामा सम्भावित विपदबाट प्रभावित हुन सक्ने परिवार र घरधुरीलाई मद्देनजर गरेर आ–आफ्ना तहमा रहेका अस्थायी आश्रयस्थल पहिचान गरी जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा पठाउन भनिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। विपदबाट हुने क्षति न्यूनीकरणका लागि सहज होस् भनेर यस्तो निर्णय गरिएको हो।

स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न सकिने भएकाले त्यस्ता क्षेत्रको पहिचान गर्न भनिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.