‘प्रश्नपत्र बेच्ने होइन, विद्यार्थीहरुलाई बाँडौँ’ : विज्ञ

|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालमा छापिएको माध्यमिक शिक्षा परीक्षा (एसइई)काे प्रश्नपत्र प्रतिकेजीकाे दरमा बिक्री गरेको छ। बोर्डले प्रयोगमा नआएका प्रश्नपत्र विराटनगरको एक कागज उद्योगलाई दिएको हो।

बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले प्रश्नपत्र बिक्रीका लागि टेन्डर भइसकेको जानकारी दिए। उनले भने, ‘प्रश्नपत्रको टेण्डर भइसकेको छ, प्रतिकेजी १७ रुपैयाँमा लाने सहमति भएको छ।’

एसइई परीक्षाका लागि करिब पाँच लाख प्रश्नपत्र छापिएको थियो। तर, कोभिड-१९ का कारण भौतिक उपस्थितिमा परीक्षा हुन सकेन। आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो। त्यसपछि प्रयोगमा नआएका यी प्रश्नपत्र बोर्डले सुरक्षित ढंगले राखेको थियो।

०७८ सालको एसइई परीक्षामा यही प्रश्नपत्र प्रयोग गर्ने कि नयाँ छाप्ने भन्ने बारेको लामो छलफलपछि बोर्डले नयाँ प्रश्नपत्र छापेर परीक्षा सञ्चालन गरेको थियो। एसइई परीक्षा नतिजा यही असार मसान्तमा प्रकाशित गर्ने बोर्डको तयारी छ।​

‘प्रश्नपत्र बेच्ने होइन, विद्यार्थीहरुलाई बाँडौँ’ 

शिक्षाविद्लगायत सरोकारवालाहरु भने उक्त प्रश्नपत्र बेच्ने नभई ०७९ सालको एसइई परीक्षा तयारी गर्ने विद्यार्थीहरूका लागि बाँड्नु उपयुक्त हुने बताउँदै आएका छन्।

शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला भन्छन्, ‘प्रश्नपत्र बेच्ने होइन, विद्यार्थीहरुलाई बाढ्याैँ भने उनीहरुलाई कस्ता प्रश्न आउँछन् भन्ने ज्ञान हुन्छ, शिक्षक, अभिभावकहरूलाई पनि फाइदा पुग्छ।’

बोर्डले प्रश्नपत्र बेच्ने भन्दा पनि विद्यार्थी र शिक्षकमा भएको कमी कमजोरीलाई सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने पटक–पटक बोर्डलाई सुझाव दिएपनि यसलाई बेवास्ता गरिएको उनी बताउँछन्।

‘प्रतिकेजी १७ रुपैयाँमा प्रश्नपत्र बेचेर कति पैसा आउँछ? विद्यार्थीहरुलाई दिए धेरै फाइदा हुन्छ, परीक्षाकै लागि भनेर प्रतिविद्यार्थी पाँच सय तिर्नुपर्छ, त्यसैले यो छपाइ भएको पैसा विद्यार्थीहरुको हो,’ उनले भने।

बोर्ड भन्छ : सबै विद्यार्थीहरुमा प्रश्नपत्र पुर्‍याउन सकिँदैन

परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रश्नपत्र धुल्याउने कानुनी प्रकृया नै रहेको बताए। ‘अब प्रश्नपत्र प्रयोगमा नआएपछि सुरक्षित ढंगले धुलाइ हुन्छ,’ उनले भने।

परीक्षा नियन्त्रक रायमाझीले भने प्रश्नपत्र सबै विद्यार्थीहरुको हातमा पुर्‍याउन सम्भव नरहेकाले बेचेको तर्क गर्छन्।

उनले भने, ‘विद्यार्थीलाई प्रश्नपत्र बाँड्नु राम्रो कुरा हो तर कुन माध्यमबाट पुर्‍याउने ? विद्यार्थीहरुको हातमा पुर्‍याउन सकिँदैन, अरु पनि विभिन्न समस्याहरु छन्।’

उनका अनुसार प्रश्नपत्र छपाइमा करिब दुई करोड खर्च भएको छ। यी प्रश्नपत्र बेच्दा कति पैसा आउने भन्ने अहिले भन्न नसकिने उनले बताए। ‘अब कति पैसा आउँछ भन्ने अनुमान अहिले गर्न सकिँदैन, सबै जोखेर मात्र थाहा हुन्छ,’ उनले भने।

उनका अनुसार सुरक्षित ढंगले प्रश्नपत्र जोखेर उक्त उद्योगमा पुर्‍याउनेछ। ‘त्यहाँ लगेपछि केमिकल हालेर अक्षर मेटिन्छ, त्यसपछि कागज पुनः प्रयोगमा आउँछ,’ परीक्षा नियन्त्रक रायमाझीले भने। कोभिड महामारीकै कारण ०७६ सालमा छापिएको प्रश्नपत्र पनि प्रयोगमा आउन सकेको थिएन।

भौतिक उपस्थितिमा परीक्षा हुन नसकेपछि प्रश्नपत्र जलाएर नष्ट गरेको यसअघि परीक्षा बोर्डले बताउने गरेको थियो। तर, परीक्षा नियन्त्रक रायमाझीले भने सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको र त्यसैपछि केही नभएको जानकारी दिए। जिल्लामा प्रश्नपत्र पुगेपछि उपयोग गर्न खासै चासो नदिइएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.