|

नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछाने पुनः प्रतिष्ठित अन्तरराष्ट्रिय टी-२० फ्रेन्चाइज क्रिकेटमा फर्किने भएका छन्। मंगलबार मात्रै श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी-२० मा डम्बुला जायन्ट्समा आबद्ध सन्दीपलाई बुधबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि जमैका तालाबाजले अनुबन्धन गरेको छ।

सन्दीपले २०१८ देखि वेस्ट इन्डिज क्रिकेट बोर्डले आयोजना गर्दै आएको सीपीएलमा आफ्नो उपस्थिति देखाउँदै आएका छन्। गत संस्करण उनी ट्रिन्बागो नाइट राइडर्समा अनुबन्ध भएका थिए तर सोही समयमा नेपाली राष्ट्रिय टोलीको ओमान टुर परेकाले उनी सहभागी हुन पाएनन्।

सन्दीपले जमैकाबाट दोस्रोपटक खेल्न लागेका हुन्। २०२० को आठौं संस्करण सन्दीपले जमैकाबाट खेलेका थिए। जमैकाले पाँच विदेशी खेलाडीको कोटामा ५ जनालाई ड्राफ्ट अगाडि नै अनुबन्ध गरेको हो। जमैकामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमाद वासिम रहेका छन्।

त्यस्तै टोलीमा अष्ट्रेलियाका क्रिस ग्रीन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस् रहेका छन्।

सीपीएल आगामी ३० अगस्टबाट शुरु हुनेछ। दशौं संस्करणको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ। प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो। उक्त टोलीबाट पनि सन्दीपले सीपीएल खेलिसकेका छन्।

यसअघि सन्दीपलाई मंगलबार एलपीएलको ड्राफ्टबाट डम्बुलाले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको थियो। सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको हो। लंका प्रिमियर लिग जुलाई ३१ बाट शुरु हुनेछ।

तेस्रो संस्करणको प्रतियोगिता अगस्ट २१ सम्म चल्नेछ। प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कुल २४ खेलहरू हुनेछन्। अघिल्ला दुई संस्करणको उपाधि जाफ्ना किङ्सले जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.