|

लण्डन : विभिन्न काण्डमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जन्सनले पार्टीको नेता पदबाट राजीनामा दिएका छन्। बेलायती सञ्चारमाध्यमका अनुसार जन्सनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएका हुन्।

बीबीसीका अनुसार राजीनामापछि पनि उनी केही समय प्रधानमन्त्री पदमा रहनेछन्। जन्सनले आज देशका नाममा सम्बोधन गर्नेछन्। यसअघि देशका नयाँ अर्थमन्त्री नदिम जावाहीले जन्सनले पद छोड्नुपर्ने बताएका थिए । जन्सनले राजीनामा दिनुपर्ने माग गरी ५० जना अधिकारीले राजीनामा दिएका थिए। 

यसअघि बुधबार बोरिस जन्सनलाई अप्ठेरो पर्ने गरी तीनजना मन्त्रीले राजीनामा दिएका थिए। स्वास्थ्य तथा अर्थमन्त्रीको राजीनामापछि प्रधानमन्त्री बोरिसलाई राजीनामा दिन दबाब बढेको थियो। बोरिस जन्सनका दुई शीर्ष मन्त्रीहरू - अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले मंगलबार सरकार छोडे।

जाविदले ट्वीटमा भनेका छन्, ‘मैले स्वास्थ्य तथा सामाजिक हेरचाह मन्त्रीको पदबाट राजीनामा दिन प्रधानमन्त्रीसँग कुरा गरेको छु। यो भूमिकामा काम गर्न पाउनु ठूलो अवसर हो, तर म दुःखी छु- अहिले विवेकपूर्ण तरिकाले काम गर्न सक्दिनँ।

बेलायती जनताले सरकारबाट इमानदारी अपेक्षा गर्छन् : जाविद
जाविदले जन्सनको सरकारले विश्वास गुमाएकाले यो सरकारमा विवेकपूर्ण तरिकाले काम गर्न नसक्ने बताए। राजीनामा दिने आफ्नो निर्णयलाई उल्लेख गर्दै उनले लेखेका छन्‚ ‘म स्वाभाविक रूपमा यो सरकारको सदस्य हुँ तर बेलायती जनताले पनि आफ्नो सरकारबाट इमानदारी अपेक्षा गर्छन्।’ 

उनले थप लेखेका छन्, ‘दुर्भाग्यवश अहिलेको अवस्थामा हामी इमानदार रहेनौँ भन्ने निष्कर्षमा जनताले निकालेका छन्। गत महिनाको विश्वासको मतले हाम्रा सहयोगीहरूको ठूलो संख्यामा हामीसँग सहमत भएको देखियो। यो नम्रता, पकड र नयाँ दिशाको क्षण थियो। जन्सनको नेतृत्वमा यो अवस्था नबदलिने भयो र तपाईंप्रतिको आत्मविश्वास पनि गुमाएको छु।’

सरकारले सही र गम्भीरताका साथ काम गरोस् भन्ने जनताको अपेक्षा छ। मलाई विश्वास छ- हामीले यी मापदण्डका लागि लड्नु पर्छ र त्यसैले मैले राजीनामा दिँदै छु।

म यसरी काम गर्न सक्दिनँ : सुनक
अर्थान्त्री सुनकले लेखेका छन्, ‘हाम्रो देशले ठूलो चुनौती सामना गरिरहेको छ। असल भविष्यको मार्ग कुन हो भन्ने जनता जान्न चाहन्छन्। हाम्रो दृष्टिकोणमा धेरै फरक छ भन्ने कुरा अर्को हप्ता हुने अर्थतन्त्रमाथि हाम्रो प्रस्तावित संयुक्त भाषणमा स्पष्ट हुनेछ।'

उनले भने, 'सरकार छाड्दा मलाई दुःख लागेको छ तर अनिच्छापूर्वक यसरी काम गरिरहन नसक्ने निष्कर्षमा म पुगेको छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.