|

काठमाडौं : कतार सरकारले सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि नेपाली कामदार लिने विषयले निकै चर्चा पायो। कतारको आन्तरिक मामिला मन्त्रालयले सन् २०१९ को जनवरीमा ठूलो संख्यामा कतार प्रहरी र सुरक्षा गार्डमा नेपाली युवा लिने औपचारिक घोषणा गरेको थियो। 

नेपालीको मुख्य श्रम गन्तव्य मुलुकको रूपमा रहेको कतारले अन्य क्षेत्रमा नेपाली कामदार माग गरिरहेको छ तर अन्तिम समयमा आएर कतारका लागि सुरक्षा गार्ड, प्रहरीमा भने नेपाली कामदार नलिने भएको छ।

सन् २०२० मा नै ५ हजार प्रहरी र ३ हजार सुरक्षा गार्ड गरी ८ हजार नेपाली युवा लिने भनिएको थियो तर गत वर्षदेखि नै यो क्षेत्रमा माग बन्द भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ। 

‘कतार सरकारले नेपाली सुरक्षाकर्मी लिने घोषणा गरेको थियो तर यतिवेला माग आएको छैन। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले भने, ‘कतार सरकारले सुरक्षाका क्षेत्रमा नेपाली कामदार माग गरेको छैन। पहिला ८ हजार लिने घोषणा गर्‍यो। नेपाली कतारमा रोजगारीका लागि जान तयार भए तर अहिले लिने तयारी देखिएको छैन।’

कतार प्रहरीमा नेपाली युवा कसरी पठाउने भन्नेबारेमा प्रस्ट सम्झौता छैन। नेपालले जीटूजी (सरकार टू सरकार) या बीटूबी (बिजनेस टू बिजनेस) कुन माध्यममार्फत नेपाली श्रमिक कतार प्रहरीको रोजगारीमा पठाउने भन्ने नै स्पष्ट नखुलाएको सचिव अर्याल बताउँछन्।

सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो। सोही समयमा कतार प्रहरीमा नेपाली कामदार पठाउन भिसा प्रमाणीकरणको काम भएको थियो। त्यसयता कतार प्रहरीमा नेपाली कामदार पठाउन सम्झौता भएको छैन। सम्झौता अवधि सकिए पनि कतारले मिति तय गर्न ढिलाइ गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

कतारले प्रहरीमा कामदार लिन शुरु गरेको थियो। बीचमा केही समस्या भएपछि रोकिएको थियो। नेपालले कतारसँग भएका विभिन्न बैठकमा सबै पक्ष बसेर छलफल गर्दा प्रहरीको विषय पनि उठाउँदै आएको थियो।

सचिव अर्यालले भने, ‘केही म्यानपावर, व्यक्ति र संस्थामाथि कतार प्रहरीमा कामदार पठाउने बहानामा ठगी गरेको उजुरीमा कारबाही समेत भएको छ तर तत्कालै नेपालीलाई कतार प्रहरीमा पठाउने सम्भावना कम देखिएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।

कतार प्रहरीमा पठाउने भन्दै ठगी

कतार प्रहरीमा नेपाली युवालाई लिने घोषणा गरेसँगै नेपालमा वैदेशिक रोजगारीमा पठाउन तैनाथ म्यानपावर कम्पनीहरूले ठगी धन्दा चलाए। सरकारले पठाउने तयारी नगर्दै म्यानपावर कम्पनीले धमाधम श्रमिकको अन्तर्वार्ता लिइरहेका थिए।

म्यानपावरले ठगी धन्दा चलाएको सूचनाको आधारमा विभागले तीनवटा म्यानपावरमा छापा मारेको थियो। डीडी ह्युमन रिसोर्स, एसओएस म्यानपावर र लाजिम्पाटस्थित होप इन्टरनेशनल म्यानपावरमा मंसिर २०७७ छापा मार्‍यो। 

वैदेशिक रोजगार ऐनको दफा ६१ अनुसार कारबाही समेत गरेको थियो। ऐनका दफा ६१ मा वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीले पूर्व श्रम स्वीकृति र सम्बन्धित निकायलाई जानकारी नगराई अन्तर्वार्ता गरेका ६ महिनासम्म कामकारबाही रोक्का र ऐन अनुसार आर्थिक जरिवाना तिराएको थियो। वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले भने, ‘यति नै ठगी भयो भन्ने तथ्यांक छैन तर कतार प्रहरीमा जाने भन्दै नेपाली ठगिएका थिए।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.