|

काठमाडौँ : काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ।

बर्खाको पानीले सडक बिग्रिएसँगै पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन। शहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा कुरूप देखिने र दुर्गन्ध बढ्ने भएकाले यसअघि थुप्रिएको फोहोर छोपिएको  हो। 

छोपिएको फोहोरमा जीवातु हालिएको छ। त्यसमाथि प्लाष्टिकले छोपिएको हो। यसबाट ट्रान्सफर स्टेशनका स्थानीयलाई पर्ने असर कम गर्न यस्तो उपाय अपनाइएको काठमाडौँ महानगरपालिकाका मेयरको सचिवालयले जनाएको छ। 

ट्रान्सफर स्टेशनलाई फोहोर शून्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको मेयरको सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्साल बताउँछन्।स्टेशनलाई फोहोर शून्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरूप प्रयास भएको हो।

सवारीसाधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ। यसरी फोहोर बाँकी रहँदाको अवस्थामा हुने दुर्गन्ध हटाउन समय समयमा प्रयास हुने गरेका छन्। यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ ब्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो। यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ। 

यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरिया हो। यसले मानव स्वास्थ्यमा कुनै पनि असर गर्दैन। निष्क्रिय बनाएर राखिएको ब्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ। 

टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ। त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ। बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.