‘पार्टीलाई फाइदा हुने गरी गठबन्धनलाई वृहत् बनाउनुपर्छ’

|

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सोमबारबाट सुरु हुने पार्टी केन्द्रिय समिति बैठकमा सरकारको काम, कारवाहीबारे गम्भिर समिक्षा गर्ने एजेन्डा तय गरेको छ। 

आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको सरकारको काम कारबाहीबारे केन्द्रिय समिति बैठकमा समिक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो। 

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भिर समिक्षा केन्द्रिय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिए। 

कोइराला पक्षले सरकारले ल्याएको बजेटबारे पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ। त्यसैगरी पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ। 

स्थानीय तह निर्वाचनको समेत समिक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाईदा हुने गरी गठबन्धनलाई वृहत् बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए। 

‘भोलिदेखि केन्द्रिय समिति बैठक हुँदैछ। त्यो बैठकमा समिक्षा, चाहे स्थानीय तह निर्वाचनको होस्, वा सरकारको समिक्षा होस्। यसले ल्याएको बजेटले पारेको असरको बारेमा होस्’ उनले भने, ‘पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरुमा पनि केन्द्रिय समिति बैठकमा छलफल गर्ने, काँग्रेसलाई कसरी मजबुत बनाउने, आगामी चुनावमा काँग्रेस कसरी जाने? गठबन्धनका बारेमा पनि अझ बृहत्तर रुपमा पार्टीलाई फाईदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो। पार्टीको भातृ संस्थाहरूदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ।’

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरूलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ। पार्टीको भातृ संस्था र विभागहरूलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरूबीच छलफल भएको नेता भण्डारीले बताए। 

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महतलगायतको सहभागिता रहेको थियो। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ। 

पार्टीको विधान अनुसार विभागहरु समेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रुपमै आलोचना गर्दै आएको छ। कांग्रेस केन्द्रिय समितिको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी पार्टी केन्द्रिय कार्यालय सानेपामा बोलाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.