|

बागलुङ : गलकोट नगरपालिकामा विकासले मुहार फेरिँदै गएको छ। विकासले मुहार फेरिए पनि नगरपालिकाले बजार व्यवस्थापनमा जोड दिनुपर्ने देखिएको छ।

पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ भने हटियामा पनि घर भवनहरु थपिरहेका छन्।

उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेतहरू विस्तारै शहरमा परिणत हुँदै आएका छन्।

बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेको छ। नगरपालिकामा फोहोर व्यवस्थापनका लागि जग्गा अभावले लामो समयदेखि समस्या थियो।

तर, पछिल्लो समय नगरपालिकाले वडा नम्बर ३ र ९ को सीमानामा पर्ने मसुरखेतमा चार रोपनी जग्गा भाडामा लिएरै फोहोर व्यवस्थापनमा जुटेको छ।

यस अघि हटिया बजारको फोहोर गौदीखोलामा फालिँदै आइएको थियो। बजारकै छेउमा फोहोर फाल्दा बजार क्षेत्र नै दुर्गन्धित भएको भन्दै जनस्तरबाट नगरपालिकालाई फोहोर व्यवस्थापनको वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै आएका थिए।

नगरपालिकाले जग्गा अभावमा फोहोरको डम्पिङ साइड खोज्न नसकेपछि जग्गा भाडामा व्यवस्थापन गरेर अहिले फोहोर प्रशोधन केन्द्र स्थापना गरेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए।​

दरमखोला किनार नजिकै जग्गा व्यवस्थापन गरी फोहोर प्रशोधन उपकरण जडान समेत गरिसकिएको भन्दै ३/४ महिनादेखि उक्त स्थानमा फोहोर व्यवस्थापन हुन थालेको गैरेको भनाई छ। उनले फोहोरलाई कुहिने र नकुहिने छुट्याएर प्रत्येक दिन संकलन गरिँदै आएको बताए।

‘फोहोर फाल्ने डम्पिङ साइट पाएनौँ, त्यसैले केही उपकरण खरिद गरेर फोहोर प्रशोधन गरी विक्री गर्ने नगरपालिकाको नीति अनुसार प्रशोधन केन्द्रको पूर्वाधार निर्माणसँगै उपकरण जडान भएको छ’ नगर प्रमुख शर्मा गैरेले भने ‘सुरुवाती चरणमा छौँ नकुहिनेलाई प्रशोधन गर्ने र कुहिनेलाई कम्पोस्ट मल बनाउने गरी कामको थालनी गरेका छौँ।’

नगरपालिकाले चार रोपनी जग्गामा सडक पुर्‍याउने, विद्युतीकरण गर्ने ट्रस्ट हाल्ने लगायतका पूर्वाधार निर्माणमा २३ लाख रुपैयाँ र उपकरण खरिद र जडानमा १० लाख खर्च गरिसकेको उनकाे भनाई छ। अहिले नगरपालिकाले एउटा ट्याक्टरमा फोहोर संकलन गर्दै आएको छ। जिल्लामै तीव्र शहरीकरण भएको स्थानमा पर्ने गलकोटमा घर थपिँदै गएपछि फोहोर व्यवस्थापनमा चुनौती बढ्दै गएको हो।

संकलित कुहिने र नकुहिने फोहोरलाई छुट्टा–छुट्टै व्यवस्थापन गरिने छ। कुहिने फोहोरको मल बनाइनेछ भने नकुहिने फोहोरलाई टुक्राउने, धुने र पुनः प्रयोगका लागि बिक्री गरिनेछ। नगरपालिकाले फोहोर व्यवस्थापनमा लाग्ने सबै खर्च फोहोर प्रशोधन पछि विक्री गरेर उठाउने लक्ष्य राखेको छ।

नगरपालिकामा सार्वजनिक जग्गा अभाव रहेका कारण व्यक्तिको जग्गा खरिद गर्दा निकै महङ्गो भएपछि भाँडाको जग्गामा फोहोर व्यवस्थापन गर्न थालिएको हो। फोहोरलाई मोहोर बनाएर विक्री गर्ने योजना नगरपालिका स्थापना भएको पाँच वर्षमा पुरा हुन थालेको गलकोट नगरपालिकाले जनाएको छ। गलकोटमा जग्गा अभावकै कारण बसपार्क नहुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.