|

म्याग्दी  : हिमालपारिको जिल्ला मुस्ताङलाई संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा जोड्ने एक मात्रै सडक बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा यात्रु  सास्ती खेप्न बाध्य छन्।

बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा तीर्थयात्री, पर्यटक, यातायात व्यवसायी लगायत उत्तरी म्याग्दी र मुस्ताङका  स्थानीयबासी जोखिम मोल्न बाध्य भएका हुन्। 

हिउँदमा कुनै समस्या नभए पनि वर्षामा बेगखोलामा पानीको बहाब बढेपछि खोला वारपार गर्न नसक्दा सवारी साधन घण्टौंघण्टासम्म रोक्नुपर्ने अवस्था छ।  खोलामा पानीको सतह घट्दा पनि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायी बताउँछन्।

बाढीका कारण दैनिक रूपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदल यात्रु बाटोमा अलपत्र पर्ने गरेका स्थानीय टेकसरा पुनले बताइन्। २०७३ भदौ १६ गते राति आएको बाढीले बेगखोलाको बस्तीसँगै झोलुंगे पुल र बेलिब्रिज बगाएको थियो। 

बाढीले पुल बगाएको ६ वर्षसम्म पनि अस्थायी संरचना नबन्दा वर्षाको समयमा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका सोही सडक खण्डबाट आवतजावत गरिरहने कृष्ण शर्माले बताए। 

स्थानीयले पैदल यात्रुका लागि हालै सामान्य काठे पुल निर्माण गरे पनि यातायातका साधनलाई अन्य कुनै विकल्प नहुँदा अझैसम्म पनि जोखिम मोलेरै खोला वारपार गराउने गरेको यातायात व्यवसायी सागर पुर्जाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.