लिउको भ्रमण परिचयात्मक मात्रै हो

|

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) का विदेश विभाग प्रमुख लिउ च्यान्चाओ चार दिने नेपाल भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका छन्।

आइतबार काठमाडौं आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत चारजना कम्युनिष्ट पूर्वप्रधानमन्त्रीलाई भेट गरे। यो भेटमा के कुरा भयो? भ्रमणको उद्देश्य र रणनीतिक महत्व के हुन सक्छ? यिनै विषयमा केन्द्रित भएर थाहाकर्मी जगत भण्डारीले विदेश मामिलाका जानकार राजन भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईं नेकपा एमालेको विदेश विभाग प्रमुख पनि भएकाले अध्यक्ष केपी शर्मा ओलीसँगको लिउको भेटमा सहभागी हुनुहुन्थ्यो। त्यसभेटमा खासगरी मुख्य के विषयहरूमा कुराकानी भयो?

दुई पक्षीय मामिलाका धेरै विषयमा कुरा भयो। मूलत नेपाल र चीन अत्यन्तै नजिकका मित्र भएको र हामीले विगत लामो समयदेखि सहकार्य गर्दै आएका विषयमा केन्द्रित भएर कुरा भयो। त्यसमा दुईटा मुलुककाबीचको सम्बन्धका विषयमा छलफल भयो। खासगरी नेपालले चीनका मामिलामा लिएका केही नीतिहरू जुन हाम्रो राष्ट्रिय हित र दुई देशको सम्बन्धलाई अगाडि बढाउनका लागि सहयोगि भूमिका खेल्ने नीतिहरु जस्तै एक चीन नीतिको नेपालले सधैँ समर्थन गर्दै आएको छ।

हामी कुनै पनि हिसाबले चीनको विखण्डन वा कुनै पनि भूभाग चीनबाट छुट्टियोस् भन्ने चाहदैनौँ। योप्रति नेपाल प्रतिबद्ध छ भन्ने कुरा अध्यक्षजीले दोहोर्‍याउनुभयो। अर्को कुरा नेपालको भूभाग चीनविरुद्धमा प्रयोग हुन नदिनेमा प्रतिबद्ध रहेको बताउनुभयो।

यी दुवै विषयमा उहाँले नेपालले खेलेको भूमिकामा धन्यवाद दिनुभयो। 
त्यसबाहेक हाम्रो पार्टीसँग चिनियाँ कम्युनिष्ट पार्टीको लामो सम्बन्ध रही आएको छ। त्यसबारेमा पनि छलफल भयो। मार्क्सवादलाई उहाँहरूको पार्टीले जसरी बुझेर चीनमा काम गरिरहेको छ। 

नेपालमा वामपन्थीको भोट धेरै छ। धेरै भोट भएका कम्युनिष्टहरु एकजुट होऊन् भन्ने सद्भाव नै नहुने त कुरा भएन नि। तर, चीन र नेपाल स्वतन्त्र मुलुकहरु हुन्। हामीले उनीहरूलाई शिरमा राखेर कुनै नीति बनाउँदैनौँ। यहाँकै जनतालाई शिरमा राखेर हामी नीति बनाउछौँ। 

त्यसैगरी, हामीले पनि आफ्नो ढङ्गले काम गरिरहेका छौ। हामी फरक देशका स्वतन्त्र पार्टी हौँ। हामीबीचमा सम्बन्ध राम्रो छ। स्वभाविकरुपमा हामी दुई देशका प्रमुख पार्टी भएकाले राष्ट्रिय स्वार्थसँग जोडिएका कुरामा सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने कुराहरु भए। 
अर्को कुरा हामी अहिले विकास निर्माणको प्रक्रियामा छौँ। पूर्वाधार निर्माण गर्ने चरणमै छौँ।

त्यसमा चीन विगतदेखि नै सहयोगी भूमिकामा रहँदै आएको छ। आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता जनाएको छ। यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने आश्वासन पनि पाएका छौँ। 
०७४ को निर्वाचनका बेला भएको चीनको उच्चस्तरीय भ्रमणले वाम एकता गराउन भूमिका खेलेको भन्ने गरिन्छ। यसपटक पनि चुनावको मुखमै उहाँ नेपाल आउनुभयो। यसपटक पनि वाम एकताका लागि सेतुको काम हुन्छ कि?

त्यसो होइन। नेपालका वामपन्थीहरूलाई एक गराउनका लागि कुनै विदेशीको भूमिका छैन। त्यतिबेला हाम्रै नेताहरू बसेर सहमति गर्नुभएको हो। यी सबै झुटो अनुमान मात्र हो। 

नेकपा विभाजन हुँदा भइसकेपछि चिनियाँ राजदूतलगायतका सक्रियता बढेको त सत्य हो नि। परिणाम के भयो त? पार्टी एकता जोगियो?

त्यसो होइन। नेकपा एमालेको विकास कुनै पनि देशको कम्युनिष्ट आन्दोलनलाई धुरी मानेर भएको थिएन, होइन। हाम्रा नीति बनाउने कुरामा हामी स्वतन्त्र छौ। हाम्रो राष्टमा कस्तो नीति हुनुपर्छ। मार्क्सवादको कसरी व्‍याख्या र लागू गर्ने विचार कस्तो हुने भन्ने २०४९ सालमै जननेता मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको रुपमा अघि बढाएका छौँ।

त्यो चिनियाँ व्‍यवस्थाभन्दा पृथक् छ। मार्गदर्शक विचार पनि फरक छ। आन्तरिक संगठन सञ्चाल र व्यवहार पनि नहेरी नाम मिल्छ भन्दैमा त्यसरी हेर्न हुँदैन। नाम त नेपाली कांग्रेस र भारतीय कांग्रेसको मिल्छ, अरु धेरैको धेरैसँग मिल्छ। 

नेपालमा कम्युनिष्टहरु एक हुन् भन्ने चाहना पनि नभएको हो चिनियाँ कम्युनिष्ट पार्टीको ?

नेपालमा वामपन्थीको भोट धेरै छ। धेरै भोट भएका कम्युनिष्टहरु एकजुट होऊन् भन्ने सद्भाव नै नहुने त कुरा भएन नि। तर, चीन र नेपाल स्वतन्त्र मुलुकहरु हुन्। हामीले उनीहरूलाई शिरमा राखेर कुनै नीति बनाउँदैनौँ। यहाँकै जनतालाई शिरमा राखेर हामी नीति बनाउछौँ। 

देउवा नेतृत्वको सरकार बनेपछि नेपालले अमेरिकी परियोजना एमसिसी संसद्बाट पारित गरेको छ। यसमा चीन असन्तुष्ट छ। यसबारे उहाँले केही भन्नुभयो?

भएन। चीनको आधारभूत मान्यता के छ भने चीन कुनै पनि छिमेकी मुलुकप्रति अहस्तक्षेपको नीति अवलम्बन गरिरहेको देश हो। तपाईंहरूको आन्तरिक मामिलामा हामी कुनै हस्तक्षेत्र गर्दैनौँ। तपाईंहरूलाई उचित लाग्ने कुरा गर्न नेपाल स्वतन्त्र छ भन्नुभयो।

तर, नेपालले लिने नीतिले हामीलाई अहित हुँदैन भन्नुभएको छ। यसमा हामी खुसी छौँ भन्नुभयो। चीनविरोधी कुनै गतिविधि नहोस् भन्नेमा उहाँको जोड थियो। 

यसपटकको भ्रमणको मुख्य उद्देश्य के देखिन्छ?

पार्टीको विदेश विभाग प्रमुख भएपछि पहिलो पटक विदेश भ्रमणको रुपमा आउनुभएको हो। नेपालका पार्टीहरुको बारेमा जानकारी लिनुभएको छ। मैले यसलाई परिचयात्मक भ्रमणको रूपमा लिएको पाएँ। तर, उहाँले पहिलो विदेश भ्रमण नै नेपाल बनाउनुमा चाहिँ केही कारण छन्। एमसिसी कन्टोभर्सी भयो।

यसबीचमा युक्रेनको पक्षमा हामीले भोट हाल्यौँ। कतै नेपालको पुरानो मान्यतामा फेरबदल भयो कि भन्ने आशंका थियो होला। यी कारणले पनि चीनले चासो बढाएको हुनसक्छ।  

अर्को कुरा हामीले अघि बढाउन खोजको आयोजना र सम्झौताहरु छन्। त्यसलाई अघि बढाउन सहकार्य गर्दै जानुपर्छ। अरु भने चीनमा अध्ययनरत नेपाली विद्यार्थी कोरोना महामारीका कारण लामो समयदेखि रोकिएका छन्। उनीहरुको भभिष्यसँग जोडिएको कुरा भएकाले पनि त्यसमा उहाँहरु गम्भीर हुनुपर्छ।

देउवा नेतृत्वको सरकार बनेपछि नेपाल अमेरिकातर्फ ढल्किएको हो कि भन्ने बुझाइ चीनको छ भनिन्छ। यसबारे केही संकेत गर्नुभयो? 

द्विपक्षीय वार्तामा कुनै पनि मुलुकले यस्ता विषय उठाउँदैनन्। विश्वव्यवस्था परिवर्तन भइरहेको छ। क्षेत्रीय शक्ति सन्तुलन परिवर्तन भइरहेको छ। यसबीचमा चीनबारे नेपालको धारणा के छ भनेर बुझ्न आएको हुनसक्छ नि। 

दुई देशबीच सम्झौता भएअनुसार चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) जुन हिसाबले अघि बढ्नुपर्थ्यो त्यसरी कार्यान्वयन हुन सकिरहेको छैन भन्ने छ। यसबारे केही संवाद भएन?

बिआरआईको नामै लिएर त केही भन्नुभएन। तर नेपालसँग गरिएका विकाससँग जोडिएका जुन विगतमा सहमति भएको छ। यी सबै अघि बढ्छन्। कोरोना महामारीलगायत कारण केही रोकिएको जस्तो भएको छ सबै परियोजना पूरा हुन्छन् भन्ने विश्वास दिलाउनुभएको छ।  

उहाँ त छिमेकी देशको कुनै एउटा पार्टीको विदेश विभाग प्रमुख मात्र होइन। त्यहाँको त सत्तारुढ दल नै हो अर्थात सरकार नै हो भन्दा पनि फरक पर्दैन यस्तो भेटघाटमा नेपाल सरकारका तर्फबाट राख्नुपर्ने महत्वपुर्ण कुरा के हो?

 एउटा नीतिगत रूपमा प्रस्टता दिनुपर्छ चीनलाई। संयुक्त राष्टसंघको वडापत्रमा आधारित, पञ्चशीलका सिद्धान्तमा आधारित, स्वतन्त्र र सन्तुलित परराष्ट नीति हुनुपर्छ भन्ने हाम्रो देशको प्रतिबद्धता छ त्यसमा चीनलाई विश्वस्त तुल्याउन सक्नुपर्छ। त्यसैगरी हामीले चीनसँग गरेका सम्झौता र विश्वासहरु छन्। चीनविरोधी कुनै गतिविधि नेपाली भूभागमा हुन दिन भएन। एक चीन नीति प्रति नेपाल प्रतिवद्ध रहेको कुराहरु छन्।

अर्को कुरा हामीले अघि बढाउन खोजको आयोजना र सम्झौताहरु छन्। त्यसलाई अघि बढाउन सहकार्य गर्दै जानुपर्छ। अरु भने चीनमा अध्ययनरत नेपाली विद्यार्थी कोरोना महामारीका कारण लामो समयदेखि रोकिएका छन्। उनीहरुको भभिष्यसँग जोडिएको कुरा भएकाले पनि त्यसमा उहाँहरु गम्भीर हुनुपर्छ। सिमा नाकाबाट निर्यात आयातमा कोरोनाका बेलामा केही असजिलो भए पनि अब त्यसलाई सहज बनाउनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.