|

काठमाडौं : आगामी साउनमा पशुपतिनाथ मन्दिर परिसरमा अभिषेकात्मक अति महायज्ञ शुरु हुँदैछ। आज पत्रकार सम्मेलन गरेर साउन २ देखि १० गतेसम्म अतिरुद्री महायज्ञ हुने जानकारी दिइएको हो।

महायज्ञ जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, थिमि, भक्तपुरको आयोजनामा हुने जनाइएको छ।

पत्रकार सम्मेलनमा क्यानडाबाट आएका डा. गोबिन्द दाहालले आफू २५ वर्ष अगाडि सुखसयलको लागि विदेशिएको बताए। विभिन्न स्थान र कार्यालयमा काम गर्ने क्रममा आफूलाई टाउको दुख्ने रोग लागेको पनि उनले सुनाए।

निरन्तर दुख्ने टाउकोको उपचारको क्रममा योग र ध्यानबारे जानकारी पाएको भन्दै उनले योग र ध्यानले नै १५ वर्षे लामो टाउको दुख्ने समस्या निको भएको दाबी गरे।

उनले भने, ‘नेपालमा आएर चिकित्सकहरुको सल्लाहअनुसार योग र ध्यानबाट १५ वर्षसम्म दुखेको टाउको निको भयो।’ ध्यानबाट नै सुख, समृद्धि र आनन्द प्राप्त गर्ने उनले सुनाए। गुरुले दिने ध्यानको ज्ञानले नै जीवन परिवर्तन हुने बताए।

विदेशमा नभएर नेपालमा नै हाम्रो कला र संस्कृतिमा नै सुख, शान्ति र समृद्धि पाइने उनले बताए। उनले भने, ‘सुख, शान्ति र समृद्धि खोज्न नेपाल आएका हौँ। यो महायज्ञले नेपालीलाई मात्र नभएर विश्वलाई नै फाइदा हुन्छ।’

वरिष्ठ प्रोफेसर डा. मेघनाथ पराजुलीले आध्यात्मिक बन्दा शान्ति पाइने बताए। आफू अमेरिकामा बसेपनि पूर्वीय सभ्यताको बारेमा ज्ञान आर्जन गर्दै आएको सुनाए।

अमेरिकामै पनि पूर्वीय सभ्यताको पछिल्लो समयमा निकै खोजी भइरहेको उनले सुनाए। जो जहाँ बसेपनि मानिसको अन्तिम लक्ष्य भनेकै आफ्नो देशको संस्कार र आध्यात्मिक चिन्तन रहेको उनको भनाई छ।

उनले अध्यात्ममा भएको साधना, योग, प्रणामको ज्ञान र विज्ञानको ज्ञान मिसाएर अरुलाई प्रसार गर्न आफू अध्यात्मतिर लागेको सुनाए। अतिरुद्री महायज्ञमा जो कोही पनि आउनसक्ने उनको भनाई थियो।

उनी गोरखामा जन्मिएका हुन्। उनी विगत ३२ वर्षदेखि अमेरिकामा बस्दै आएको जानकारी दिए। बौद्धिक, शैक्षिक र प्रोफेसनल विधामा ख्याति प्राप्त गरिसकेपछि आध्यात्मिक बनेको उनले बताए।

यस्तै, अतिरुद्रीका यज्ञाचार्य डा. जगन्नाथ गुरागाईंले शिव तत्वको बारेमा प्रकाश पारेका थिए। उनले यो महायज्ञको आयोजना गरेर गुरुकुल र आध्यात्मिक परम्परामा जोड्ने प्रयास भएकोमा खुशी व्यक्त गरे।

उनले शिवजीको अनेकौँ प्रकारका पूजा गरेको सुनाए। उनले यस्तो महायज्ञले कल्याणकारी तत्वलाई स्वीकार र अकल्याणकारी तत्वलाई अस्वीकार गर्न सिकाउने पनि सुनाए।

यस्तै, अतिरुद्री महायज्ञ मूल आयोजक समितिका संयोजक श्रीधर सापकोटाले अहिले अनुशासनहीन भएर मानिसहरु हिँडेको गुनासो पोखे। उनले भगवानबाट प्राप्त हुने कृपाको अभाव भएकोले अहिले खराब अवस्था आएको सुनाए।

सिद्धबाबाको सङ्कल्पलाई आत्मसात गरेर आफूहरुले यस्तो अनुष्ठान गर्न लागेको सुनाए। उनले भने,‘जे जति गर्छौं, आफूहरु मुहूर्तअनुसार नै गर्छौं। दैनिक ५ हजारलाई भोजनको व्यवस्थापन गरिएको छ। भक्तहरुलाई स्वतन्त्र रूपमा दर्शनको व्यवस्था गरिएको छ। त्यसको लागि भोलेन्टियरको पनि व्यवस्था गरिएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.