|

काठमाडौंः शुक्रबारदेखि हलमा हिन्दी र नेपाली गरी चार नयाँ फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'सिल्ली फो' र 'सम्झना बिर्सना' तथा हिन्दी फिल्म 'साबास मिठु' र 'जुदा होके भी'ले एकसाथ प्रदर्शन थालेका हुन्। 

निमेश प्रधानको निर्देशनमा बनेको रोमान्टिक कमेडी लभस्टोरी जनरामा बनेको फिल्म 'सम्झना बिर्सना'ले मल्टिप्लेक्समा ८ देखि १२ प्रतिशतसम्म शो पाएको छ। फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्मा मुख्य भूमिकामा देखिएका छन्। आकाश र पूजा बाहेक सुनील थापा र छुल्ठिम गुरुङको पनि मुख्य भूमिका रहेको छ। 

अर्को नेपाली फिल्म 'सिल्ली फो'ले भने मल्टिप्लेक्समा सबैभन्दा कम शो पाएको छ। देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई एउटा शो पनि दिएको छैन भने अन्य हलहरूले एक शो मात्रै दिएका छन्। राजबहादुर सानेको निर्देशनमा बनेको कमेडी ड्रामा फिल्ममा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी लगायत कलाकारको मुख्य भूमिका रहेको छ। 

त्यस्तै श्रीजित मुखर्जीको निर्देशनमा बनेको स्पोर्ट ड्रामा 'साबास मिठु'ले मल्टिप्लेक्समा १७ देखि २० प्रतिशतसम्म शो पाएको छ। भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथाली राजको बायोपिक साबास मिठुमा तापसी पन्नु मिथालीको भूमिकामा देखिएकी छन्। सामान्य परिवारबाट आएकी मिथालीको खेल जीवन र भारतीय महिला क्रिकेटमा उनको योगदानका बारेमा फिल्म बनाइएको हो। 

विक्रम भट्टको निर्देशनमा बनेको हरर फिल्म 'जुधा होके भि'ले पनि हलमा ८ देखि १० प्रतिशतसम्म शो पाएको छ। फिल्ममा अक्षय अबरोय, रुसद राना, ऐन्द्रिता रे लगायत कलाकार देखिएका छन्। 

यी बाहेक हलमा 'थोर: लभ एण्ड थण्डर', 'मिनियन्सः द राइज अफ ग्रु', 'कबड्डी ४' लगायत प्रदर्शनरत छन्। हलिउड फिल्म 'थोर' गत हप्तादेखि सर्वाधिक शोका साथ प्रदर्शन भइरहेको छ भने जेठ १३ देखि प्रदर्शनमा आएको 'कबड्डी ४' आठौँ हप्तामा प्रवेश गरेको छ।

कोरोना महामारीपछि सबैभन्दा लामो समय हलमा टिक्ने नेपाली फिल्म बनेको 'कबड्डी ४' अब दुई दिन हलमै रह्यो भने  ५१ दिन मनाउनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.