|

काठमाडौं : नेपालमा कोरोना संक्रमण पुन तिब्र गतिमा फैलिएको छ। असार एक गतेसम्म ०.६४ प्रतिशत रहेको संक्रमणदर हाल ६ प्रतिशत भन्दा माथि पुगेको  छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा असार १ गते परीक्षण गरिएकामध्ये ०.६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो। सो सङ्ख्या बढेर असार  ५ गते १.१३ प्रतिशत पुगेको थियो। त्यसैगरी, असार १९ गते संक्रमणदर बढेर २.५ प्रतिशत पुगेको थियो।

सो सङ्ख्या बढेर असार अन्तिमसम्म  आइपुग्दा १० गुणाले बढेर संक्रमणदर ६ प्रतिशत भन्दा माथि पुगेको छ। असार १ गते देशभर ९७ जना सक्रिय संक्रमित रहेकोमा ठिक एक महिनापछि आजसम्म १ हजार ३८५ जना सक्रिय संक्रमित रहेका छन।

यो एक महिनाको बढ्दो कोरोना संक्रमणदर हेर्दा नेपालमा कोरोना  महामारीको  चौथो लहर सुरु भएको देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा आपत्कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचइओसी) प्रमुख डा. समीर अधिकारी पछिल्लो समय तिब्र गतिमा संक्रमण बढेको बताउछन्। ‘ संक्रमण बढ्दै छ, अझै सीमानाकामा झन संक्रमण पुष्टि हुने अवस्था धेरै छ’ उनले भने।

एक महिना अघिसम्म उपचारमा आउने संक्रमितको संख्या शून्य रहेको महाराजगञ्जमा स्थित त्रिवि शिक्षण अस्पतालमा हाल कोरोनाको लक्षण लिएर परिक्षण गर्न जाने र पिसिआर पोजेटिभ देखिने दर बढेको छ। अस्पतालका कोरोना फोकल पर्सन डा. निरज बमका अनुसार दुई हप्ता यता ज्वरो आउने,वान्ता हुने जस्ता समस्या लिएर उपचारमा आउने विरामीहरुमा पिसिआर गर्दा पोजेटिभ देखिन दर बढेको बताए।

‘कोभिडको जस्तै लक्षण लिएर परिक्षण गर्न आउनेको संख्या बढ्नुका साथै पिसिआर पोजेटिभ देखिने दर दुइ हप्ता यता हाम्रोमा बढ्दै गएको छ’ उनले भने। यस्तै हाल अस्पतालमा तीन जना कोरोना संक्रमितको भर्ना गरेर उपचार गरिरहेको र भर्ना भएका संक्रमितलाई अक्सिजनको सपोटमा उपचार गर्नु परेको समेत उनले बताए।  यो मौसममा ज्वरो,झाडापखालाका बिरामी धरै आउने मौसम भएपनि त्यस्ता लक्षण लिएर आउने धेरैमा कोरोना पुष्टि भएको उनले बताए।

आइसियु र भेन्टिलेटरमा उपचार हुने संक्रमित बढ्न थाले

संक्रमण बढ्दै जादा पुन आइसियु र भेन्टिलेटरमा उपचार गराउनु पर्ने संक्रमितहरुको संख्या पनि बढ्दै गएको छ। असार पहिलो हप्ता सम्म आइसियू र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेकोमा हाल आईसीयूमा   उपचार गाउने संक्रमित दुईदर्जन भन्दा बढि (१७) जना छन्। यस्तै भेन्टिलेटरमा पनि केही संक्रमितको उपचार भइरहेको छ। अब संक्रमण बढेसँगै यो संख्या बढ्न सक्ने समेत बताइएको छ।

चौथो लहर सुरु भइसक्यो

ओमिक्रोन भेरिएन्टको नयाँ उप-प्रजाति ‘बिए.फाइभ समुदायमा फैलँदै गएको हुदा नेपालमा कोरोना संक्रमणको चौथो लहर सुरु भइसकेको हुँदा सरकारले आवश्यक उपकरण,अक्सिजनहरुको व्यवस्थापन गर्नु पर्ने अवस्था आइसकेको बताउँछन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी।

‘एक प्रतिशत भन्दा तल झरेको संक्रमणदर झन्डै दशको हाराहारीमा पुगेको छ,संक्रमणले पुन प्रकोपको संकेत गरेको हुँदा सरकारले आवश्यक तयारीमा जुटिसक्नु पर्ने अवस्था छ’ उनले भने।

ओरजिनल ओमिक्रोनभन्दा सवभेरियन्ट ‘बी फाइभ’ले बिरामीलाई कत्तिको अप्ठ्यारो पार्छ भन्ने थाहा नभए पनि तिव्र गतिमा संक्रमण फैलिएको र सोही अनुसार आईसीयूमा उपचार गराउने संक्रमित पनि हाल बढ्दै गएको हुँदा अवस्था पुन जटिल हुने संकेत देखिएको समेत डा मरासिनीले बताए। ‘चौथो लहर सुरु भइसकेको अवस्थामा सरकारको तयारी जिरो छ अझै यस अघि उपचारमा खटाइएका स्वास्थ्यकर्मी हटाउने निर्णय गरेको छ यस्तो अवस्थामा पछिल्ला दिनहरुमा जनस्वास्थ्यको मापदण्ड पालना पनि कडाइको साथ गरिएको देखिदैन, यसले हामीमा फेरी केही समय अर्को जटिलता भोग्नु पर्ने हुनसक्छ’ डा मरासिनीले भने।

एन्टिबडी घट्दै जादा खोप लगाएकामा पनि जोखिम

पछिल्लो समय नेपालमा कोभिड खोप धेरैले लगाए पनि त्यसरी खोप लगाएकाहरुको एन्टिबडी कम हुँदै जाने समय भइसकेकाले खोप लगाएकामा पनि संक्रमण हुने जोखिम बढेको डाक्टर समीर अधिकारी बताए।  संक्रमण बढ्दै गएको समय यस अघि बुस्टर डोज नलगाएकाले बुस्टर डोज खोप लगाउन उनले आग्रह समेत गरेका छन।

 स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालका करारका स्वास्थ्यकर्मीले तलव नपाउने निर्णय

यता कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारका लागि भन्दै यसअघि ल्याइएको ६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले साउन एक गते (आजबाट) पारिश्रमिक नदिने निर्णय गरेको छ।

तर मन्त्रालयले मोडरेट र सीभिअर केश व्यवस्थापनका लागि प्रत्येक प्रदेशमा अस्पताल तोक्ने भएको छ। जसमा प्रदेश १ मा कोशी अस्पताल बिराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशबाट जनकपुर प्रदेशिक अस्पताल र नारायणी अस्पताल,बागमती प्रदेशबाट शुक्रराज ट्रपिकल अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,गण्डकी प्रदेशबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल बागलुङ रहेका छन् । यसैगरी लुम्बिनी प्रदेशबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज रहेका छन् ।

कर्णाली प्रदेशबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत रहेका छन्। सुदूरपश्चिम प्रदेशबाट डडेल्धुरा अस्पताल र सेती प्रादेशिक अस्पताल रहेका छन्। यी अस्पतालमा कोभिडको उपचार गरेवापत सरकारले रकम सोधभर्ना गरिदिने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.