|

हेटौंडा : देशको राजधानी तथा पर्यटकीय नगरी काठमाडौंका सडक चोक र गल्लीमा अचेल फोहोरको डंगुर थुप्रिएको देख्न सकिन्छ। 

फोहोरले महानगरको सौन्दर्य घटाएको त छ नै हैजाजस्ता रोगको जोखिम पनि उत्तिकै छ। काठमाडौं भर्खरै निर्वाचित महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सबैभन्दा ठूलो चुनौतीको विषय बनेको छ, यही फोहोर। 

काठमाडौं मात्रै होइन देशका  ठूला अन्य शहरका लागि पनि फोहोर व्यवस्थापनको विषय निकै चुनौतीपूर्ण बनेको छ। फोहोरलाई मोहर बनाउने चर्चा बेलाबखत चले पनि ठोस प्रगति अझैसम्म हुन सकेको छैन।

देशको मुख्य शहरमा फोहोर व्यवस्थापन गर्न चुनौती भइरहँदा हेटौंडामा फोहोरबाट विद्युत उत्पादन गर्ने मेसिन निर्माण हुने गरेको छ। 

हेटौँडा उपमहानगरपालिका–८ का कृष्ण खतिवडाले विगत चार वर्षदेखि जापानी प्रविधिको प्रयोग गरेर फोहोरबाट विद्युत उत्पादन गर्ने मेसिन निर्माण गरेर विदेश निर्यात गर्दै आइरहेका छन्। 

खतिवडाका अनुसार यो मेसिनले फोहोरमा भएका टिन, फलामलगायतका वस्तु छानेर अलग गरिदिन्छ। कुहिने तथा नकुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिंकर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिए। 

खतिवडा यो मेसिन नेपालमा वातावरणमैत्री छ भनेर प्रमाणपत्र दिन मिल्ने कानुनमा नै व्यवस्था नभएको कारण आफ्नो उत्पादन जापान लगेर जापानको नाम दिएर अन्य मुलुकमा बिक्री गर्नुपरेको गुनासो गर्छन्। 

नेपालभित्र व्यापार गर्ने अनुमति भए पनि हालसम्म कुनै पनि निकायले खरिद नगरेको उनले बताए। उनले  निर्माण गरिरहेको मेसिन जापान पठाएर बिक्री गरिरहेका छन्। 

मेसिनले फोहोर परिमार्जन प्रक्रियामा निस्कने ग्यासलाई तापक्रम दिएर निस्क्रिय बनाइदिने उनको भनाइ छ। उनको अनुसार शुद्ध हावामात्र वायुमण्डलमा छाड्छ। सो मेसिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०.५ मेगावाट बिजुली उत्पादन हुने खतिवडाले जानकारी दिए। 

उनका अनुसार कुहिने फोहोरबाट पत्थर कोइला बन्ने र नकुहिने फोहोरबाट भने क्लिंकर निस्कन्छ जसबाट सिमेण्ट उत्पादन गर्न सकिन्छ।  मेसिनभित्र जडान भएका सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहोर व्यवस्थापन सहजै गर्न सकिने उनको भनाइ छ। मेसिनले प्लाष्टिकजन्य फोहोरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको खतिवडाको दाबी छ। 

अन्य मुलुकबाट ठूलो परिमाणमा मेसिनको माग भएको तर नेपालबाट पठाउनको लागि नेपाल सरकारबाट प्रमाणपत्र दिने प्रावधान नभएकाले जापानमा पार्टपुर्जा लगेर फिट गरेर बेच्नको लागि पाटपुर्जासहित ५० जना कामदार लिएर जापान जानुपर्ने बाध्यता रहेको उनले सुनाए। 

खतिवडाले फोहोर नष्ट गर्नेमात्र नभएर मल र बोटबिरुवालाई चाहिने जैविक भिटामिनसमेत उत्पादन गर्ने साना किसिमका मेसिन पनि बनिरहेको जानकारी दिए। 
‘फोहोरमा फोहोर मात्रै हुँदैन । त्यसमा अनेकन खालका अन्य जैविक तत्त्वसमेत हुन्छ’, उनी भन्छन्, ‘त्यसलाई व्यवस्थापन गर्न सकिन्छ।’

खतिवडाले निर्माण गर्ने मेसिनको बागमती प्रदेशको मुख्यमन्त्रीसहित काठमाडौं र पोखरा  महानगरको मेयरले पनि निरीक्षण गरिसकेका छन्। मुख्यमन्त्री पाण्डेले देशलाई समृद्ध बनाउन यस्ता उपकरण कोसेढुंगा सावित हुने बताएका थिए। 

दुई दिनअघि मात्रै उनले संघीय सरकारको उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूलाई पनि भेटेका छन्। मुख्यमन्त्रीसहित काठमाडौंको  मेयर बालेन र पोखराका धनराज आचार्यले मेसिनको अवलोकन गरे पनि मेसिन खरिद गर्ने अथवा प्रोत्साहन गर्ने विषयमा कुनै पहल नगरेको उनको गुनासो छ। 

‘धेरैपटक धेरैजनाले आएर अवलोकन गरेर जानुभयो। आश्वासन दिनुभयो तर उहाँहरूले यो कुरा विश्वास नगर्नुभएको हो कि नचाहनु भएको हो। कुनै चासो दिनुभएन’, उनले भने। नेपालमा उद्योगीलाई प्रोत्साहन भन्दा हतोत्साही बनाउने गरेको उनले गुनासो गरे। आफूले भन्सारमा तिरेको कर रिलिज नगर्ने तर आफूसँग सरकारले क्षणभरमै तिर्नुपर्ने बाध्यकारी नियमको कारण पनि उद्योगलाई सहज रुपमा चलाउन समस्या भएको उनले बताए।  जापानबाट सामान नपुगी पैसा नआउने र यता आफूले पहिलै लगानी गर्नुपर्ने भएकोले समस्या हुने गरेको उनले गुनासो गरे।

कसरी सुरु भयो मेसिन निर्माण कार्य ?

लामो समय शिक्षकको काम गरेका खतिवडा शिक्षण पेश छोडेर २०४८ देखि औद्योगिक क्षेत्रमा उद्योग धन्दामा काम गर्न थाले। त्यहाँ उनी मेसिनरी पार्टहरु नै बनाउँथे। 

२०५५ सालमा श्रीमती बिरामी भएपछि थप उपचारका लागि उनी बेल्जियम गए। उपचार समय पनि लामै लाग्यो। त्यही बस्नुपर्ने बाध्यता भएपछि सन् २००७ बाट उनले त्यहीँ जापानिज स्टोर खोले। त्यहाँ जापानी सामान युरोपको अन्य मुलुकमा ‘सप्लाई’ हुन्थ्यो। 

यसै क्रममा जापानी नागिरकसँग उनको सम्बन्ध राम्रो हुँदै गयो। सन् २०१५ बाट उनले उक्त मेसिन बनाउन सुरु गरे।  प्लाष्टिकले गर्दा सिर्जना हुने समस्यालाई देखेर आफूले यस्तो मेसिन निर्माणमा चासो देखाएको खतिवडाले बताए। उनले मेसिन बनाउनुअघि प्लाष्टिकलाई कसरी वातावरणमैत्री तरिकाले नष्ट गर्न सकिन्छ भन्नेमा जापानीसँग सेमिनारमा सहभागी भए। खतिवडाले त्यतिबेला आफू जापानबाट भारत पनि आएको बताए।

त्यतिबेला उनको टिममा युरोपेली र एसियन वैज्ञानिकहरू पनि रहेका थिए। उनले धेरै छलफल अनुसन्धानपछि पटक पटक आर एन डी (रिसर्च एण्ड डेपलभमेन्ट) गरेको  बताए।  धेरै चरणमा आर एण्ड डी गरेपछि अन्तमा फिलिपन्सको सेफु टापुमा ‘आर एण्ड डी’ गरेको उनको भनाइ छ। 

त्यहाँ काम गरेपछि त्यो भन्दा पछिल्लो अपडेट भर्सन नेपालको मकवानपुर जिल्लाको मनहरीमा चलाएको उनको दाबी छ। त्यहीँबाट तीन वर्ष अघिमात्रै यसलाई हेटौंडामा सारेको खतिवडाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.