|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार (आज) बस्ने कार्यसमिति बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी भएसँगै स्थगित गरिएको छ।

एन्फाले असार ६ को साधारण सभाबाट नयाँ नेतृत्व पाएसँगै बस्न लागेको दोस्रो कार्यसमिति बैठक स्थगित भएको हो। अर्को बैठक कहिले बस्ने भन्नेबारे एकिन भएको छैन। एन्फा महासचिव किरण राईले अध्यक्षको रक्तचाप अचानक बढेर उपचारका लागि मेडिसिटी अस्पताल लगिएको जानकारी दिए। उनले मुटुको समस्याका कारण आजको बैठक सम्भव नभएको जानकारी दिए। 

एन्फा सचिवालयले अध्यक्षको स्वास्थ्यस्थितिकै कारण आजको बैठक स्थगित गर्नुपरेको र अर्को बैठक एन्फाको बोर्डले तय गर्ने जानकारी दिएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बोलाइएको बैठकमा विभिन्न १२ एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको थियो।

यसअघि एजेन्डाबिना बोलाइएको पहिलो बैठकमा नै विभिन्न निर्णय गरेसँगै एन्फा शुरुवातबाटै विवादमा फसिसकेको छ। अध्यक्षले विवादास्पद रुपमा केही महत्त्वपूर्ण निर्णय गरेपछि चौतर्फी आलोचना भएको थियो।

सुशासनको नारालाई चर्को स्वरमा उठाएर चुनाव जितेको नेम्वाङ खेमामा विधि र विधान प्रधान हुने भने पनि नेम्वाङ नेतृत्वमा विधानअनुसार पहिल्यै एजेन्डा पठाएर हुन लागेको बैठक स्थगित भएको हो। आजको छलफलमा भागबण्डामै केन्द्रित हुने पक्का थियो।

मुख्य गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ), ३ जना सह-महासचिव,  प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल गर्ने एजेन्डा भए पनि अहिलेको कार्यसमितिमा गणेश थापा पक्षधर हाबी भएसँगै अध्यक्ष अल्पमतमा पर्ने पक्का थियो।

चुनावमा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिस्पर्धामा उत्रिएका थिए। नेम्वाङ पक्षलाई गणेश थापा पक्षधरको बलियो साथ रहेको थियो। शेर्पालाई पराजित गर्दै नेम्वाङले नेतृत्वमा कब्जा जमाए। अहिले थापा पक्ष हाबी हुन खोजेसँगै नेम्वाङको चुनौती शुरु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.