काठमाडौं : वर्षा र गर्मीसँगै बढेपछि काठमाडौं उपत्यका सहित पहाडी जिल्लामा डेंगुका बिरामी देखिन थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष लागेपछि धादिङ जिल्लामा मात्रै ४९ जना डेंगुका बिरामी भेटिएका छन्। साउन लाग्नेबित्तिकै काभ्रेमा समेत डेंगुका दुईजना संक्रमित भेटिएका छन्।
ललितपुरमा मात्रै ८ महिनामा ३६ जना बिरामी
महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा हालसम्म ८ जना डेंगुका संक्रमित भेटिए पनि गत पुसयता ललितपुरमा मात्रै ३६ जना डेंगुका संक्रमित भेटिएका छन्। जसमा असार लागेसँगै भेटिने संक्रमित धेरै रहेको बताइएको छ।
यस्तै दुई दिनअघि मात्रै काभ्रेमा दुईजना संक्रमित भेटिएको डा. दाहालले बताए। ‘गर्मी र वर्षासँगै हुँदा डेंगुका बिरामी देखिन शुरु भएको छ, हालसम्मको हाम्रो जानकारीमा अहिलेको अवस्थामा धादिङ र ललितपुरमा डेंगुका सबैभन्दा धेरै संक्रमित भेटिएका छन्’‚ डा. दाहालले भने।
यस्तै यो वर्ष लागेपछि रूपन्देहीमा २४ जना, बर्दियामा १९, संखुवासभामा ३०, चितवनमा ६ जना संक्रमित भेटिएको समेत उनले बताए। डेंगु संक्रमण देखिने प्रमुख जिल्लामध्ये चितवनमा गत आर्थिक वर्षमा २१३ जना डेंगुका बिरामी भेटिएका थिए।
काठमाडौं उपत्यकामा २०७६ सालमा डेंगु संक्रमण तीव्र रूपमा फैलिको थियो। त्यस समयमा उपत्यकामा १९ सयभन्दा बढी डेंगुका बिरामी भेटिएका थिए।
गत दुई वर्ष कोरोना महामारीले र त्यसकारण भएको निषेधाज्ञाले गर्दा डेंगुको केशको रिपोर्टिङ कम भएको थियो।
पहाडमा पनि देखिन थाल्यो डेंगु
केही वर्ष अघिसम्म उच्च गर्मी हुने तराईका जिल्लाहरूमा मात्रै देखिदै आएको डेंगु संक्रमण बढ्दो जलवायु परिवर्तनले गर्दा पछिल्लो समयमा पहाडी जिल्लाहरूमा समेत देखिन थालेको छ।
हाल तराईमा जस्तै पहाडमा पनि गर्मी हुने हुँदा डेंगु संक्रमण देखिने गरेको डा. दाहालको भनाइ छ।
यस्तो लक्षण देखिए डेंगु संक्रमण हुनसक्छ
एडिस प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने र यसले पारेका अण्डा, प्यूपा र लार्भाबाट हुर्कने सबै लामखुट्टेले टोकेमा डेंगु सर्ने डा. दाहालले बताए। ‘गर्मी मौसममा पानी परेपछि हाम्रो घर वरपर पानी जम्ने र त्यही पानीमा लामखुट्टे धेरै हुने र त्यहाँ रहेको एडिस प्रजातिको लामखुट्टेले टोकाइबाट डेंगु संक्रमण हुने गर्छ'‚ उनले भने।
एडिस प्रजातिको लामखुट्टेले टोकेपछि मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने, दुई-तीन दिनपछि लगातार मा १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आउने गर्छ। यस्तै ढाडका जोर्नीहरू दुख्नु, शरीरमा बिमिरा आउनु, वाकवाक लाग्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक, गिजाबाट रगत बग्ने जस्ता लक्षण देखिने डा. दाहालको भनाइ छ।
उनका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर प"रै छोपिने गरी लुगा लगाउने गर्नुपर्छ।
घर वरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधीको प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।