समयमा नलगाउँदा खेर गयो करिब डेढ लाख मात्रा कोभिसिल्ड खोप

|

काठमाडौं : म्याद गुज्रने मितिसम्म लगाउन नसक्दा नेपालमा करिब डेढ लाख मात्रा कोरोनाविरुद्धको कोभिसिल्ड खोप खेर गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार केन्द्र र प्रदेशमा गरी करिब डेढ लाख जति कोभिसिल्ड खोप खेर गएको हुनसक्ने बताए।

उनका अनुसार धेरै खोप प्रदेश र जिल्ला सहित स्थानीय तहमा रहेको हुँदा ठ्याक्कै कति खोप खेर गयो भन्न नसकिए पनि करिब डेढ लाख मात्रा जति खोप खेर गयो कि भन्ने अनुमान गरिएको उनले बताए। ‘धेरै खोप प्रदेश र जिल्लाहरूमा गएको र हालसम्म कति खोप खेर गयो भन्ने यकिन विवरण आइसकेको छैन तर अहिलेसम्मको हाम्रो अनुमानमा डेढ लाख मात्रा जति खेरा गयो कि भन्ने छ। सबै ठाउँको विवरण आएपछि यो संख्या बढ्न पनि सक्छ, अझै घट्न पनि सक्छ’‚ उनले भने।

उनका अनुसार गत बिहीबार बिहानसम्मको विवरणमा हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, प्रदेश १ मा ११ हजार, टेकुको कोल्ड चेन स्टोरमा १९ हजार ४ ८० जति रहेकोमा पछिल्लो समय कति खोप लगाइयो र कति खेर गयो भन्ने विवरण अझै नआएको बताए। ‘शनिवार बेलुकीसम्म नलगाइएको खोप खेर जाने अवस्थामा थियो, हामी अहिले सबै ठाउँमा कति खोप खेर गयो भनेर विवरण संकलन गर्दै छौँ’‚ उनले भने।

कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त भएको थियो। हाल सोही खोपको १० लाख मात्रा साउन ७ गतेसम्म नलगाए खोपको म्याद गुज्रिएर खेर जाने अवस्थामा थियो। स्वास्थ्य मन्त्रालयले खोप खेर नजाओस् भनेर यस बीचमा बुस्टर डोज खोप अभियान समेत चलाएको थियो।

खेर गएको खोप के गरिन्छ

एकै समयमा धेरै खोप खेर गएको अवस्थामा अब सो खोप कसरी व्यवस्थापन गर्ने भन्ने पनि छलफल भइरहेको थापाले बताए।

यता स्वास्थ्य सेवा विभागको वातावरणीय स्वास्थ्य एवं स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार पनि हाल एकैपटक धेरै खोप खेर गएको खबर आएपछि उक्त खोप कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भएको बताए।

उनका अनुसार यसअघि कोरोनाविरुद्धका खोप लगाइसकिएका खाली सिसी‚ सिरिन्ज र भाइल भने माइक्रोओभनबाट नष्ट गरिएको भए पनि खोप सहितको सिसी र भाइल रहने हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भइरहेको उनले बताए।

‘खोप लगाएर खाली भएको सिसी एक महिना म्म स्टोरमा राखेर त्यसपछि एकपटक पखालेर माइक्रोओभनबाट नष्ट गर्ने गरिएको थियो। अब अहिले खेर गएका खोपका सिसीहरू खोप सहितको हुने हुँदा हामी यस विषयमा छलफल गर्दै छौँ, खोपको आफ्नै गाइडलाइन भएको हुँदा सोहीअनुसार सरल तरिकाले व्यवस्थापन गर्छौँ’‚ ढुङ्गानाले भने।

यस्तै कोरोनाविरुद्धको कोभिसिल्ड खोपमा जिउँदो जीवाणु नहुने हुँदा जोखिम खेर गएर व्यवस्थापन गर्दा पनि जोखिम नहुने उनले बताए। ‘यो खोपमा जिउँदो जीवाणु हुँदैन जसले गर्दा खेर गएको खोप सहितको सिसी व्यवस्थापन गर्दा जोखिम हुँदैन’‚ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.