|

बागलुङ :  २०५४ सालमा टमाटर खेतीका विषयमा धेरैलाई ज्ञान थिएन। २४ वर्षपछि अहिले टमाटर धेरैको अनिवार्य फल बन्दै आएको छ। त्यतिवेला टमाटर नेपालको अनिवार्य उपभोग्य फल बन्छ भन्ने थाहा पाएमध्येका एक हुन् बागलुङको दुर्गम तमानखोला गाउँपालिका- २ कटेरीका ४८ वर्षीय चूडामणि छन्त्याल।

छन्त्यालले लामो समय वैदेशिक रोजगारी, केही समय काठमाडौं र पोखरा बिताएर चार वर्षअघि मात्रै आफ्नो पुरानो गाउँ कटेरीमा फर्केर कृषि क्रान्तिमा लागेका छन्। छन्त्यालले २०५४ सालमा टमाटरको भविष्य सुनिश्चित भएजस्तै अहिले स्ट्रबेरी फलको भविष्य सुनिश्चित देखेको बताउँछन्।

‘टमाटर कस्तो हुन्छ हामीले विदेश गएर चाख्यौँ, २० वर्षको अन्तरालमा नेपालका कुना काप्चामा टमाटर अत्यधिक प्रयोग हुन्छ’, छन्त्यालले भने, ‘अहिले स्ट्रबेरीको क्रेज पनि २०५४ सालमा टमाटरको जस्तै छ, पछि यसको महत्व र प्रयोग निकै बढ्ने अपेक्षा देखेको छु, अहिले दुई टमाटर टनेलमा टमाटर फलाउन छोडेर स्ट्रबेरी फलाएको छु, स्थानीय बजारमा यो फलको विषयमा कसैलाई ज्ञान छैन, सीधै पोखरा निर्यात हुन्छ।’

छन्त्यालले जिल्लामै पहिलो पटक विदेशी फलफूल स्ट्रबेरीको व्यवसायिक खेती गर्दै आएका छन्।

लामो समय वैदेशिक रोजगारीमा गएका छन्त्यालले विदेशमा स्ट्रबेरी खेतीकाे राम्रो संभावना देखेपछि काठमाडौं र पोखरामा व्यवसायिक खेती शुरु गरेका तर पछि आफ्नै गाउँले तानेर कटेरीमा ६ रोपनी जग्गामा व्यवसायिक तरकारी र स्ट्रेबरी खेती थालेको छन्त्यालको भनाई रहेको छ।

उनले गाउँमै पहिलोपटक प्लाष्टिक टनेलमा खेती गर्न थालेको बताए। परम्परागत पुर्ख्यौली खेती गर्दै आएका स्थानीयलाई व्यवसायिक अर्गानिक खेतीमा आकर्षण गराउन छन्त्यालले महत्वपूर्ण भूमिका खेलेका छन्।

उनले उत्पादन गरेका स्ट्रबेरी पोखराको लेकसाईटमा प्रतिकेजी ७०० मा बिक्री हुने गर्दछ।

अहिले हप्तामा ८ केजी स्ट्रबेरी पोखरा पठाउने गरेको र परीक्षण उत्पादन सफल हुँदै गएकाले उत्पादन बढाउँदै लैजाने उनको भनाई छ। अहिले आफ्नै गाउँमा श्रम गरेर पसिना बगाउँदा विदेशको दुख बिर्सिएको छन्त्यालको भनाई छ।

उनी एउटै टमाटरको विरुवाबाट २० केजीसम्म टमाटर समेत उत्पादन गर्दै आएको बताउँछन्। डायमण्ड एग्रो नामक फर्म दर्ता गरेर अकबरे खुर्सानी, साग, काउली, बन्दा, स्ट्रबेरीसहित मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन्।

मासिक ३५ हजार रुपैयाँ कृषि कर्मबाटै बचाउने गरेको छन्त्याल बताउँछन्। ‘गाउँमै हिलो, धूलोमा खेलेर ३५ हजार बचाउँछु, गाउँको माटोमा खेल्न पाउँदा स्वर्गीय आनन्द आउँछ, विदेशमा गएको दुख बिर्सिन्छ, मैले कोरिया र मलेसियामा समेत केही वर्ष कृषि क्षेत्रमै काम गरेकाले कृषिमा संकलन गरेको अनुभव गाउँलेलाई समेत सिकाएको छु, एउटा पनि प्लाष्टिक टनेल नभएको भरबोङ्गा गाउँमा अहिले ५६ वटा प्लाष्टिक टनेल भइसक्दा निकै खुसी भएको छु’, छन्त्यालले भने, ‘विदेशी फलफूलका रूपमा रहेको स्ट्रबेरी पोखरा र काठमाडौंमा राम्रो बिक्री हुन्छ, क्रमश: स्थानीय बजारमा समेत यसको माग हुनेमा विश्वस्त छु।’

काठमाडौंको घर बिक्री गरेर श्रीमान श्रीमती गाउँ फर्केर कृषि कर्ममा रमाएका छन्। अहिले बसाइँसराइले समस्याग्रस्त गाउँमा कृषि गुरुका रुपमा आफूलाई परिचित गराइराखेका छन्त्यालले गाउँमा अन्य किसानले समेत प्लाष्टिक टनेल राख्दा खुशी लागेको बताउँछन्।

छन्त्यालले २३५० मिटर उचाइमा रहेको तमानखोला- २ को कटेरी गाउँलाई  कृषि क्रान्तिको थालेका रुपमा छन्त्यालले विकसित गर्दै गएका छन्।

अहिले ठूला ठूला ३ वटा टनेल र अन्य खाली जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आएका छन्त्यालले हालसम्म २० लाख लगानी गरिसकेको उनी बताउँछन्।

अहिले गाउँमा घर व्यवस्थापन गर्दै बसेको र गाउँमा उत्पादन भएको तरकारीको बजारीकरणको जिम्मा आफूले लिने भन्दै किसानलाई प्रोत्साहन गर्दै समेत छन्त्याल परिवार आएका छन्। छन्त्यालले उत्पादन गरेको तरकारी अहिले बोङ्गादोभान र बुर्तिवाङ बजारमा पठाउँदै आएका छन्।

कृषि पेशा आफूलाई मन पर्ने र जग्गा आफ्नै भएकाले यस काममा समर्पित हुँदाको सन्तुष्टि पृथक भएको उनको भनाई छ। व्यावसायिक खेतीका लागि शहरको जग्गा लिजमा लिँदा समेत महँगो हुने भएकाले आफ्नै पाखाबारीमा केही गर्दा सहज र सफल हुने उनको अनुभव छ।

भयरबोङ्गाका ४३२ घरमा ५६ टनेल स्थापना भइसकेका छन्। अहिले उक्त गाउँ मुख्यमन्त्री नमुना कृषि गाउँका रुपमा समेत विकास भइरहेको र किसानहरुलाई प्लाष्टिक टनेल स्थापनामा प्रोत्साहन गर्दै आएको छ।

चिसो स्थानमा उत्पादन भएको तरकारी तथा फलफूल अन्यको तुलनामा महँगो हुने उनी बताउँछन्।

‘यस्तो चिसो स्थानमा यो स्केलमा टमाटर, काउली, स्ट्रबेरी फलाउन कार्य चुनौतीपूर्ण कार्य हो, निश्चय नै बढी नाफा कमाउन यहाँ समस्या हुन्छ, तर यहाँ उत्पादन हुने कुनै पनि वस्तुमा विषादी प्रयोग भएको हुँदैन सबै गाई भैँसीको मल प्रयोग गरेका हुन्छौँ’, छन्त्यालले भने।​

स्ट्रबेरी विश्वव्यापी रुपमा गरिने खेती हो। यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ। यो फल रातो रङ्गको हुने गर्दछ। यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन गरी जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमा समेत खाने गरिन्छ।

हावापानीको दृष्टिकोणले यो बाली शीतोष्ण प्रदेशीय हो। यसका विभिन्न जात र हावापानीमा अनुकूलित हुने किसिमले विकसित भएकोले यसको खेती समशीतोष्ण प्रदेशसम्म भैरहेको छ। यसको खेती संसारका धेरै देशहरुमा भैरहेको पाइन्छ भने नेपालमा यसको खेती पछिल्लो चार/पाँच वर्षदेखि भइरहेको र पौष्टिकताका हिसाबले अत्यन्तै महत्वपूर्ण मानिने छन्त्यालले बताए।

प्रशस्त घामको प्रकाश पुग्ने र सिँचाईको सुविधा पुर्‍याउन सकिने ठाउँमा यसको खेती राम्रो हुने र यस बालीको वृद्धि र विकासको लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ।

७ डिग्री सेल्सियस भन्दा तलको तापक्रम हुँदा र तुषारो पर्दा फूल मर्ने समस्या देखिन्छ। हाल त्यस्तो प्रतिकूल मौसम भएका ठाउँहरुमा प्लाष्टिक हाउसमा खेती गर्ने चलन बढेको पाइन्छ।

स्ट्रबेरी खेतीका लागि बागलुङमा परीक्षणका क्रममा भएकाले कुनै अनुदानको कार्यक्रम नभएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकालले जानकारी दिए। उनले बागलुङमा स्ट्रबेरी खेतीको राम्रो संभावना रहेको बताए। उनका अनुसार अन्य कृषकले भने यसको व्यवसायिक खेती भने नगरेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.