|

पर्वत : भीरको बाटो हिँडेरै जान कठिन रहेको मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका स्थित सिटोङ खोलाको पानी गाउँमा ल्याउन सकिएला भन्ने घिलिङगाउँवासीले सोचेका थिएनन्। 

सिटोङ खोलाको पानी समुद्र सतहदेखि चार हजार ८०० मिटरको उचाइमा रहेको पुग्नै लाग्दा गाउँवासी खुसी भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष राजु विष्ट बताउँछन्। कल्पना नै नगरिएको खोलाको पानी गाउँमा आउँदा गाउँलेहरू हर्षित भएको उनले बताए। 

‘खोलाको पानी गाउँतर्फ आउँदै गर्दा कल्पना नै नगरेको कुरा हुन लागेको भन्दै घिलिङवासी खुसी देखिन्छन्। वषौँँदेखि गाउँलले चाहेको असम्भव आयोजनाको रूपमा रहेको घिलिङ सिटोङ सिँचाइ नहर अन्ततः वास्तविकतामा परिणत भएको छ,’ विष्ट भन्छन्, ‘यो हाम्रो सपनाको परियोजना हो किनभने यो किसानलाई धेरै लाभदायक हुनेछ।’

घिलिङ गाउँबाट करिब १० किलोमिटर टाढाको दूरीमा रहेको उक्त खोलाबाट पानी ल्याउनको लागि सहज नदेखिएका कारण विगतमा खासै पहल भएको थिएन। सामग्रीको ओसारपसार, प्रविधि, लगायतका कुराहरू लैजान पनि समस्या हुने भएका कारण घिलिङ गाउँवासीको चासोमा यो आयोजना परेको थिएन। तर पछिल्लो समय दुर्गम र कठिन ठाउँमा पनि मोटर बाटोको सुविधा विस्तार भएसँगै प्रविधि लैजान सहज भएका कारण नै आयोजना कल्पना गरिएको बिष्टको बनाइ छ। 
छ करोडको लगानीमा बनिरहेको योजनाको काम करिब आधा पूरा भएको छ। मान्छे जान नै कठिन रहेको भीरमा समेत निकै संयमताका साथ काम गरेर भीरबाट पाइप गाडी करिब पाँच किलोमिटर अगाडिसम्म पानी आइपुगेको छ। गत भदौबाट काम थालिएको थियो। 

स्थानीय उपभोक्ता कुंगा तेन्जिङले आयोजनाको करिब ५० प्रतिशत काम पूरा भएको बताए। उनले आयोजनाको काम पूरा भएपछि घिलिङबासीको कृषि उत्पादन राम्रो बन्ने दाबी गरे। अहिलेसम्म साङबोचेको डाँडासम्म आइपुगेको पानी अबको केही महिनामा गाउँमा नै आइपुग्ने खुसीको पल पर्खेर बसेको उनको भनाइ छ।

घिलिङ गाउँमा उत्पादन हुने गरेको फापर, जौ, उवा र आलु जिल्ला बाहिर समेत निर्यात हुँदै आएकोमा अब त्यसमा पनि थप प्रगति हुने आशमा गाउँवासी छन्। आवश्यक मात्रामा सिँचाइको सुविधा नहुँदा नहुँदै पनि राम्रो उत्पादन लिएका उनीहरूले सिँचाइ सुविधासँगै उत्पादन बढाएर निर्यात पनि बढाउने तयारीमा रहेको अर्का कृषक लोप्चे गुरुङको भनाइ छ।

‘खानेपानीको सुविधा त हुने नै भयो। अब उवा, फापर, जौ, आलुमा पनि लगाउन पाउने भएपछि उत्पादन बढ्छ भन्ने आशा छ,’ उनले भने, ‘अब केही महिनामा पानी गाउँमा आइपुग्छ। अहिलेसम्मको काम अप्ठ्यारो भीर र टाढा थियो। अब नजिक नजि आएपछि सजिलो हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.