|

अमेरिका, जर्मनी जस्ता सम्पन्न औद्योगिक देशमा हेपटाइटिस रोगको बुझाइ सामान्यतया हेपाटाइटिस ‘बी’ र ‘सी’ भन्ने हुन्छ, जुन सामान्यतया यौनसम्बन्ध र रगतबाट फैलिन्छ। तर उचित सरसफाइको अभावका कारण गरिब मुलुकमा बसोबास गर्ने हजारौँ मानिस हेपाटाइटिस ए र ई जस्ता पानीजन्य समस्यासँग जुध्दै आएका छन्। 

हेपाटाइटिस ‘ई’ धेरै हदसम्म मल पदार्थका कारण दूषित पानीबाट सर्छ। मौसम निरन्तर तातो भएकाले आगामी वर्षमा यसको फैलावट बढ्ने अनुमान विज्ञले गरेका छन्।

हेपाटाइटिस ‘ई’ दक्षिण र पूर्वी एसियामा गम्भीर समस्या बन्न सक्ने सम्भावना देखिएको छ। भारत र नेपाल लगायतका देशमा मनसुन महिनामा संक्रमण उच्च देखिन्छ। जुन सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म रहन्छ। तर हेपाटाइटिस ‘ई’  केही अफ्रिकी देशहरूको लागि खतरा बन्दै आएको छ।

सामान्यतया विकासोन्मुख देशहरूमा दूषित पानीका कारण यो रोगको फैलावट उच्च देखिन्छ। पानीको अभाव हुने वा पानीको अत्यधिक मात्राका आउने बाढीका कारण सरसफाइ कमी भएर यो रोग फैलिएकोमा विज्ञ चिन्तित छन्। 

‘उच्च बाढीका कारण पानी ढलमा जान सक्छ। र त्यसपछि जब बाढीको पानी कम हुन्छ, त्यसबाट ढलको प्रदूषण हुन्छ। त्यसैबाट उत्पन्न हुने मलबाट पानी दूषित हुन्छ। यो हेपाटाइटिस ई सर्ने मुख्य कारण हो।’ सब–सहारा अफ्रिकामा हेपाटाइटिस ‘ई’ को फैलावटको अध्ययन गरेका घाना विश्वविद्यालयका अनुसन्धानकर्ता आयोडेल माजेकोदुन्मीले भने। माजेकोदुन्मीले खडेरी जस्तो अवस्थामा पनि हेपाटाइटिस ई फैलिन सक्ने खतरा रहेको बताउँछन्। 

‘सुक्खा मौसममा नदी घट्दा पानी केन्द्रित धेरै स्रोत हुन्छ। बगिरहेको खोलाबाट पानी लिन सक्षम हुनुको सट्टा, त्यहाँ थोरै पोखरीहरू मात्र बाँकी छन्, र सबैले ती स्रोत प्रयोग गरिरहेका छन्। त्यसकारण तिनीहरू सहज रुपमा दूषित बन्छन्’, माजेकोदुन्मीले भने।

हेपाटाइटिस ‘ई’ संक्रमितहरूमा हल्का ज्वरो, कम भोक, थकान, वाकवाकी र बान्ता जस्ता लक्षणहरु देखा पर्छन्। अन्ततः  जण्डिस हुने सम्भावना हुन्छ। आँखा, छाला र झिल्ली पहेँलो हुने हुन्छ, जुन सामान्यतया  दुईदेखि आठ हप्तासम्म रहन्छ। जलवायु परिर्वतनका कारण बाढीका घटना बढ्ने अनुसन्धानकर्ताको अनुमान छ।

तर भारतको लखनउमा ग्यास्ट्रोएन्टेरोलजी र चिकित्सा विज्ञानका प्राध्यापक राकेश अग्रवाल हेपाटाइटिस ईको फैलावटमा जलवायु परिवर्तनले भूमिका खेलिरहेको छ कि छैन भनेर निश्चित रूपमा भन्न नसकिने बताउँछन्। उनले विश्वव्यापी तापक्रम वृद्धिले हेपाटाइटिसका घटनामा वृद्धि भए\नभएकोबारे थप अध्ययन आवश्यक रहेको बताए। 

विश्वमा अहिले हेपाटाइटिस ईबाहेक धेरै पानीजन्य रोग छन्। ‘उनीहरूले अस्वीकार गरेका छन् किनभने हामीले पानी आपूर्ति सुधार गर्ने धेरै कुरा गरिरहेका छौँ’, अग्रवालले भने, ‘जलवायु परिवर्तन नभएको भए के तिनीहरू छिटो घट्ने थिए ? हामी भन्न सक्दैनौँ।’

विश्वभर हरेक वर्ष करिब २ करोड मानिस हेपाटाइटिस ‘ई’ बाट संक्रमित हुन्छन्। ती संक्रमणहरूले लगभग ३.३ मिलियन लक्षणात्मक घटना निम्त्याउँदै आएका छन्। 

सन् २०१५ मा यो रोगले लगभग ४४ हजारको मृत्यु भएको थियो। यदपी जवान र स्वास्थ्य मानिसहरुमा मृत्यु दर अत्यन्त कम छ। गर्भवती महिलाको सन्दर्भमा २० प्रतिशतले बढेको छ। 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हेपटाइटिस बी र सी को तुलनामा भने निकै कम छ। डब्लूएचओको तथ्यांक अनुसार सन् २०१९ मा हेपटाइटिस बी बाट ८ लाख २० हजार र  २ लाख ९० हजार हेपटाइटिस सीबाट मृत्यु भएको थियो। धेरै जसो सिरोसिस र हेपाटोसेलुलर कार्सिनोमा (प्राथमिक कलेजोको क्यान्सर) बाट मृत्यु भएको पाइएको थियो। हेपाटाइटिस ई भाइरस संक्रमण रोक्न चीनले खोपको विकास गरेको छ। 

चीनसँग खोपको लागि इजाजतपत्र छ। तर विश्वव्यापी रूपमा उपलब्ध छैन्। विकसित विश्वमा यसको न्युन फैलावट र तुलनात्मक रूपमा कम मृत्युदर भएकाले विश्वभरका चिकित्सा र औषधिजन्य समुदायले हेपाटाइटिस ‘ई’ मा थोरै ध्यान दिने गरेको माजेकोदुन्मीले गुनासो गरे।  हेपाटाइटिस ‘ई’ पत्ता लगाउन विशेष किटको व्यवस्था छैन। यसले विभिन्न देशका अनुसन्धानकर्ता र जनस्वास्थ्य एजेन्सीहरूलाई उनीहरूको नतिजा तुलना गर्न र विश्वव्यापी रूपमा भाइरस कत्तिको प्रचलित छ भनेर बुझ्न गाह्रो बनाउने माजेकोदुन्मी बताउँछन्। 

शरणार्थी शिविरहरू, मानवीय संकटबाट गुज्रिरहेका क्षेत्रहरू र विनाशकारी जलवायु घटनाहरूको जोखिममा रहेका ठाउँहरू जस्ता जीवनको अवस्था सबैभन्दा कम भएका क्षेत्रमा यो रोग ठूलो मात्रामा पाइन्छ।

नेपालमा हेपटाइटिसको अवस्था

नेपालका बालबालिकामा सबैभन्दा बढी हेपटाइटिस एको संक्रमण ज्यादा पाइन्छ। अहिले युवा बयस्कहरूमा तीव्र हेपाटाइटिसको प्रमुख कारणको रूपमा देखा परेको छ। हेपटाइटिस बी को सामान्य प्रसार १.१ प्रतिशत छ। यद्यपि, हिमालय क्षेत्रका धेरै जातीय समूहमा यसको दर उच्च पाइन्छ।  नेपालमा हेपाटाइटिस कलेजो सिरोसिस र हेपाटोसेलुलर कार्सिनोमाको प्रमुख कारक तत्व मध्ये एक हो।  नेपालमा धेरै जसो हेपटााइटिस ‘ए’ र ‘ई’ को प्रकोप छ। 

सन् २०१९ मा बंगलादेश, भुटान र थाइल्याण्डसँग नेपाल दक्षिण–पूर्वी एसिया क्षेत्रमा हेपाटाइटिस बी नियन्त्रण गर्ने पहिलो देश बनेको थियो। पाँच वर्षका बालबालिकामा घातक रोगको प्रकोप एक प्रतिशतभन्दा कममा झरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

सन् २०१५ मा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार नेपाल हेपटाइटिस ‘ई’ को जोखिमपूर्ण क्षेत्रको रूपमा देखाएको छ। हेपटाइटिस ‘ई’ का कारण गर्भवतीको मृत्यु दर २५ प्रतिशत देखाएको छ। प्रतिवेदनका अनुसार २०७२ सालको भूकम्पको समयमा हेपटाइटिस ‘ई’ बाट नेपालका गर्भवती प्रभावित बनेका थिए। ४८ हजार २६८ गर्भवतीमध्ये खोप नपाएका २ हजार ६४ जना संक्रमितमा ५१० को मृत्यु भएको थियो। खोप लगाएका २८९ मा ७१ को मृत्यु भएको पाइएको छ।  

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ। त्यसैगरी सो समयमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को नयाँ संक्रमणलाई ९० प्रतिशतले घटाउने लक्ष्य छ। त्यसैगरी हेपाटाइटिसका कारण कलेजो सिरोसिस र क्यान्सरबाट हुने मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ।

(अन्तर्राष्ट्रिय स~चारमाध्यम र अध्ययन प्रतिवेदनको सहयोगमा)
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.