|

बागलुङ : कुनै पनि चाडपर्व, विवाह तथा शुभ कार्य गर्दा बाजा नबज्ने बागलुङका कुनै पनि घर हुँदैनथे। जहाँ शुभ कार्य हुन्थ्यो, त्यहाँ नौमती बाजाको बज्थे। तर, पछिल्लो समय ठूला–ठूला विद्युतीय स्पिकर प्रचलन आएपछि नौमती बाजा ओझेलमा पर्ने चिन्ता बढेको छ।

बागलुङको पहिचानको रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेपछि स्थानीय सरकार नै यसको संरक्षणमा जुटेका छन्।

पुस्ता हस्तान्तरण अभाव, नौमती बाजाप्रति युवाहरूले चासो नदिँदा र युवाहरू विदेश पलायन भएका कारण पनि बागलुङमा नौमती बाजा लोप हुने खतरा बढेपछि केही स्थानीय तहले वडा तहमा नौमती बाजा संरक्षण थालेका छन्।

उनीहरूले बाजा बजाउने दलित समुदायका स्थानीयलाई प्रोत्साहन स्वरुप नौमती बाजा दिने अभियान चलाएको छ। बागलुङ नगरपालिका- ७ को वडा कार्यालयले तीन वर्ष अघिदेखि नै स्थानीय नौमती बाजा समूहलाई नौमती बाजा सहयोग गरेको थियो।

त्यसलगत्तै काठेखोला गाउँपालिकाले दुई वर्षअघि नौमती बाजा संरक्षणका लागि पालिकाको प्रमुख नीति तथा कार्यक्रम नै बनायो। नौमती बाजा समूह बिहे, व्रतवन्धका साथै सुखद कार्यक्रममा शुभकार्यका लागि बाजा बजाउने प्रचलन छ। काठेखोला गाउँपालिकाले आठ वटै वडामा एक-एक नौमती बाजा समूहलाई नौमती बाजाहरू उपलव्ध गराएको थियो भने जिल्लाको ढोरपाटन नगरपालिकाले समेत नौमती बाजाको संरक्षणका लागि नौमती बाजा समूहलाई नौमती बाजाहरू वितरण गरिसकेको छ।

काठेखोला गाउँपालिकाका ८ वटै वडामा दलित समुदायका बाजा समूहलाई बाजा सेट प्रदान गर्न गाउँपालिको १० लाख बजेट विनियोजन गरेर कार्यान्वयन गरेको थियो। स्थानीय पालिकाले हराउन थालेको नौमती बाजा संरक्षणमा चासो देखाएपछि नौमती बाजा बजाएर जीविका चलाउँदै आएका दलित समुदायका कलाकारहरूलाई हौसला मिलेको थियो। काठेखोला गाउँपालिकाको सिको अन्य पालिकाका वडाहरूले समेत गर्न थालेका छन्।

जनताको घरदैलोको सरकारले नौमती बाजा बजाउनेहरूलाई प्रोत्साहनका लागि बाजाका उपकरण सहयोग गरेपछि नयाँ बाजा खरिद गर्नै नसक्ने युवाहरूलाई समेत राहत पुगेको छ। आर्थिक वर्ष २०७८-०७९ मा गलकोट नगरपालिका–७ मल्मले नौमती बाजा संरक्षणका लागि बाजा समूहलाई नौमती बाजा उपलव्ध गराउने गरी बजेट विनियोजन गरेर कार्यान्वयन गरेको छ।

मल्म वडा कार्यालयको दुई लाख र स्थानीय बाजा समूहको ४५ हजार साझेदारीमा बाजा समूहलाई एक-एक थान नयाँ नौमती बाजा उपलव्ध गराइएको वडा अध्यक्ष राज बहादुर थापाले जानकारी दिए। ‘नौमती बाजा जिल्लाको पहिचान नै बन्न थालेको छ तर उहाँहरूलाई नजिकको सरकारले हौसला दिनु पर्दछ, पुस्ता हस्तान्तरण अभावमा लोप हुन थालेको बाजा संरक्षणमा हाम्रो वडाले नौमती बाजाहरू खरिद गरेर नौमती बाजा समूहलाई हस्तान्तरण गरेका छौं', अध्यक्ष थापाले भने, ‘यस अघि जिल्लाका अन्य पालिकाका वडाहरूले समेत नौमती बाजा वितरण गरेका थिए, राम्रो कामको अनुसरण गरेका हौं, थोरै बजेटमा धेरै सकरात्मक काम समेत गर्न सकिन्छ, अहिले हाम्रो वडाको नौमती बाजा समूह उत्साहित बनेको छ।’

निवर्तमान वडा अध्यक्ष टिका बहादुर थापाले नौमती बाजा संरक्षणका लागि वडामा रहेको नौमती बाजा समूहलाई बाजा खरिद गर्ने गरी बजेट व्यवस्थापन गरेको थियो। बाजा निर्माणको चाँजो पाँजो भने चर्चित संगीतकार आशिष अविरलले गरेका थिए। गलकोट लोक संस्कृतिको थलो बन्दै गइरहेको सन्र्दभमा आगामी दिनमा नौमती बाजा तालिम केन्द्र समेत स्थापना गर्ने उद्देश्य अनुरुप अहिले नौमती बाजा वितरण गरिएको निवर्तमान वडा अध्यक्ष थापाले जानकारी दिए।

गलकोट नगरपालिका वडा- ७ मल्मको सिरवारे नमूना टोल विकास संस्था अन्र्तगत रहेको पञ्चेबाजा व्यवस्थापन समितिलाई नयाँ बाजाका सामग्री सहयोग गरिएको हो। परम्पराकालदेखि सिरवारे गाउँको बाक्लो दलित बस्तीमा नौमती बाजा पहिचानका रुपमा स्थापित छ।

पछिल्लो समय स्थानीयहरूमा पुस्ता हस्तान्तरण नहुँदा र युवा पलायनले निराश बनेका दलित समुदायका वाद्यवादक तथा कलाकारहरू नयाँ बाजा सामाग्री पाएपछि हर्षित भएको नौमती बाजा व्यवस्थापन समितिका कलाकार राज कुमार दर्जीले बताए।

नौमती बाजा वडा कार्यालयको समन्वयमा परम्परागत शैलीमै काठमाण्डौमा तयार गरिएको थियो। नौमती बाजा बजाएर यहाँका दलित कलाकारहरूले आफ्नो गुजारा समेत चलाउँदै आएका छन्। गलकोटमा नौमती बाजाको तालिम केन्द्र बनाउने गलकोट नगरपालिकाले योजना समेत अघि सारेको वडा अध्यक्ष राज बहादुर थापाले बताए।

विवाह तथा उत्सवमा बजाइने नौमती बाजा अन्य जिल्लाको तुलनामा बागलुङमा बढी मात्रामा प्रचलित छ। बागलुङको गलकोट तथा सिगानाको नौमती बाजा त ब्राण्ड नै बनेको छ। गलकोट र सिगानाको नौमती बाजा जिल्लामै मात्र नभएर पोखरासम्म माग हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.