|

काठमाडौं :  सुनसरीको धरानका सहकारी पीडितले धरान उपमहाननगरपालिकाको कार्यालय तोडफोड गरेका छन्। आफूहरुको पैसा खाएको भन्दै बराह बचत तथा सहकारीका संस्थाका सञ्चालकको सम्पत्ति रोक्का गर्न माग गर्दै नगरपालिका पुगेका पीडितहरूले कार्यालय घेराउ गरेर तोडफोड गरेका हुन्। 

उनीहरुले मेयर हर्क साम्पाङलाई समस्या सुनाइरहेका थिए। तर बीचमा नै मेयर साम्पाङले आफूहरुलाई नराम्रो वचन लगाएको भन्दै पीडितहरूले नगरपालिका कार्यालयमा तोडफोडसमेत गरेका हुन्। 

आइतबार बिहानको १० बजेबाट नै कार्यालय परिसरमा पुगेका पीडितहरूले दिउँसो २ बजेसम्म नाराबाजी गरेका थिए। २ बजे मेयर साम्पाङ आएपनि उनले पीडित पक्षलाई नराम्रो वचन लगाएको आरोप पीडितहरूको छ। 

धरानका मेयर हर्क साम्पाङले सहकारी पीडितले आफूलाई काम गर्न नदिएको, होहल्ला गरी कार्यालय सञ्चालनमा बाधा पुर्‍याएको, कार्यालयमा आएर गालीगलौज र तोडफोड गरेको बताएका छन्। 

उनले आफ्नो कार्यालयको सिसा फुटाइएको, आफूमाथि हमला गरेको, धरान नगर सरकारको मानहानी गरेकोसमेत सामाजिक सञ्जाल फेसबुमा उल्लेख गरेका छन्। यसले अराजकता फैलाएको उनको ठहर छ। 

धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले पीडितलाई न्याय पाउने गरी नै काम अघि बढाइरहेको समयमा पीडितहरु नाराबाजी र तथा गालीगलौजमा उत्रिएकोले समस्या जटिल बनेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.