|

जुम्ला : जिल्ला प्रशासन नेतृत्वको सरकारी टोली पूजाआजाका लागि बडिमालिका प्रस्थान गरेको छ।

तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्तरूपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट पूजाआजाको डोली सहित जिल्ला प्रशासन कार्यालय जुम्लाका कर्मचारी नेतृत्वको टोली बडिमालिकातर्फ प्रस्थान गरेको हो। जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वको ४ जनाको टोली र भक्तालु त्यसतर्फ प्रस्थान गरेका हुन्।

टोली बडिमालिका प्रस्थान गर्नुपूर्व जिल्ला प्रशासन कार्यालय अगाडि रहेको दरवारमालिकाको पूजाआजा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।

उनका अनुसार नेपाली सेनाको एक टुकडीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरवारमालिकाको सलामी अर्पणपछि टोलीलाई बिदाइ गरिएको हो। बडिमालिका माईको मन्दिरमा पूजाआजा गरेपछि नेपाली सेना र सशस्त्र प्रहरीद्वारा सलामी अर्पण गरिएको थियो।

नागपञ्चमीका दिन बडिमालिकातर्फ प्रस्थान गर्ने परम्परा अनुसार जुम्लाको टोली त्यसतर्फ प्रस्थान गरेको संस्कृति सम्बन्धी जानकार रमानन्द अचार्जले बताए। बिहीबार प्रस्थान गरेको टोली १७ दिनको पैदल यात्रापछि बडिमालिका पुगेर पूजाआजा गरेर खलंगा फर्कने चलन छ। परम्परादेखि अञ्चलाधीश कार्यालयको मातहत चलिआएको पूजा अहिले जिल्ला प्रशासन कार्यालयको मातहत चल्दैआएको छ।

जुम्लाका श्रद्धालुका अनुसार बडिमालिका माईको पूजा गरे मनोरथ पूरा हुने विश्वास छ। मंगलबार बिहान बडिमालिका माई र चन्दननाथ भैरवनाथको मन्दिरमा पूजा गरिएको हो। जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि रहेको दरवारमालिकाको मन्दिरबाट कृष्णमन्दिर परिक्रमा गरी जिल्ला प्रहरी कार्यालय गएर नेपाली सेना र नेपाल प्रहरीको सलामीपछि टोली बडिमालिका गएको हो। 

त्यस्तै टोलीलाई प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं, नेपाली सेना, सशस्त्र प्रहरी लगायतका सरकारी निकायका प्रमुख र स्थानीयले अक्षता र ध्वजापताका दिएर बिदाइ गरेका छन्।

जुम्लामा तत्कालीन बडा हाकिमको नेतृत्वमा बडिमालिका जाने चलन थियो। उक्त टोली कृष्णाष्टमीको अघिल्लो दिन फर्किएपछि भोलिपल्ट जुम्लामा लाख्य नचाउने चलन छ। यो वर्ष कोरोनाका कारण लाख्य नचाउने प्रशासनले जनाएको छ। बिदाइ गर्न आएका स्थानीयले मनोकामना पूरा हुने आशामा अक्षता नासो पठाउने गर्छन्। हजारौँको संख्यामा बिदाइ गर्न आएकाहरूले टोलीको यात्रा सफल हुनुको साथै जुम्लाका सम्पूर्ण काममा सफलता मिल्ने कामना गर्छन्।

जुम्लाबाट लिएको अक्षता, फूलपाती बडिमालिकामा लिएर चढाइन्छ। 

मंगलबार  दिउँसो हिडेको टोली तातेपानीमा बस्छ। जिल्ला प्रशासन कार्यालय जुम्लाको नेतृत्वमा वर्षको एकपटक भगवतीको दर्शन गर्न जाने परम्परा छ। त्यस अवसरमा नेपाली सेनाको नन्दाबक्स गणबाट आएको टोली र जिल्ला प्रहरी कार्यालयबाट आएको टोली र सशस्त्र प्रहरी बलको टोलीले बाजागाजा सहित निशान भगवती, चन्दननाथ, भैरवनाथ र बडिमालिका माईलाई ब्याण्ड बाजा र बिगुल बजाई सम्मान गरेका थिए।

जिल्ला प्रशासन कार्यालय जुम्लाको प्रांगणबाट शुरु भएको टोली जुम्ला बजार परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेर अन्तिम सलामी अर्पणपछि नेपाली सेनाको टोली फर्किएको थियो। बडिमालिका भगवतीका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाबाट वर्षको एकपटक गहना बनाएर पठाउने गरिन्छ। योपटक पनि भगवतीका लागि सुनको टीका, चाँदीको बिनायो, चाँदीको मुरली, चाँदीको काँगियो र चाँदीको छत्र बनाएर पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सबै सामग्री भगवतीलाई चढाएपछि मात्रै चन्दननाथ मन्दिरमा ल्याएर चढाउने गरिन्छ। त्यस्तै उक्त अवसरमा खलंगामा लाख्य नचाइने चलन पनि छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.