|

पर्वत : भीरबाट खसेको ढुंगाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक खण्ड पुनः सञ्चालनमा आएको छ।

पर्वतको कुश्मा नगरपालिका–८ मा रहेको चुवाको भिरमा सडक माथिबाट खसेको ठुलो ढुंगा सडकमा अडिएपछि सडक अवरुद्ध भएको थियो। सडकको बिच भागमा अडिएको ढुंगाका कारण सडक अवरुद्ध भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेको कमान्डमा पुगेको प्रहरी टोलीले ढुंगा हटाएर सडक पुनः सञ्चालनमा ल्याएको हो।

मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग भएको जेसिबीको सहयोगमा ढुंगा हटाएपछि बिहीबार बिहान केही बेर अवरुद्ध भएको सडकमा अहिले भने बिना अवरोध सवारीहरू आवतजावत भइरहेका प्रहरी नायव निरीक्षक निउरेले बताए।  

ढुंगाका कारण ठुला सवारीहरू छिर्न नसकेपछि पोखराबाट कुश्मा, बागलुङ, म्याग्दी र मुस्ताङ जाँदै गरेका ठुला सवारीहरू चुवा र दोबिल्लामा नै रोकिएका थिए भने ती जिल्लाबाट बाहिरिएर पोखरा, काठमाडौँ, चितवन लगायतका ठाउँमा जानका लागि पुगेका सवारीहरू पनि चुवामा नै रोकिएका थिए। सडक खुलेसँगै ती सवारीहरू गन्तव्यमा लागेका छन्।

गत मंगलबार पनि सोही स्थानमा खसेको ठूलो ढुंगाका कारण मझौला र ठूला सवारीहरूको आवागमन रोकिएको थियो। मंगलबार बिहान खसेको ढुंगालाई दिउसो मात्रै सडकबाट हटाउन सकिएको थियो। मंगलबार जस्तै फेरि पनि ढुंगा खस्न सक्ने अवस्थाका कारण तयारीमा अवस्थामा राखिएको जेसिबी र प्रहरीको सक्रियताका कारण बिहीबार भने केही बेरमा नै सडकको अवरोध हटेको छ।

ढुंगा झरेको स्थल पहिलेबाट नै साँघुरो रहेको थियो। मध्यपहाडी सडक निर्माणको क्रममा अग्लो भागसम्म भीर कटान गरेर सडकलाई दुई लेनको बनाइएको थियो। हरेक बर्खामा सानो–ठुलो पहिरो तथा ढुंगा पनि चुवाको भीर क्षेत्रमा खस्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.