चर्किन थाल्यो धावनमार्ग

|

इलाम : गत फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले निवर्तमान पर्यटनमन्त्री प्रेम आलेलाई साथमा लिएर इलाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग उद्घाटन गरे।

उद्घाटनमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता परियार, नेपाल वायु सेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीसमेत सहभागी थिए।

विमानस्थल रहेको इलाम नगरपालिका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र मात्र हैन उनको गृहनगर समेत हो। नेम्वाङको घर र विमानस्थलको दूरी साढे ५ किलोमिटर मात्र छ तर उद्घाटनमा उनी देखिएनन्।

इलाममा विमानस्थल निर्माणका लागि २०६७ सालमा खनाल र नेम्वाङ दुवै जनाले पहल गरेका थिए। नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि खनाल एक्लै जस लिने होडमा थिए। त्यसैले इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर विमानस्थलबाट नियमित उडान गर्ने भएपछि नेम्वाङ बिनै खनाल हतारमा जम्बो टोली नेपाल वायुसेवा निगमको जहाजमा लिएर धावनमार्ग उद्घाटन गर्न इलाम आए।

विमानस्थलको काम नै सम्पन्न नभएको अवस्थामा हतारमा धावनमार्गको उद्घाटनलाई नजिकैबाट नियालेका इलामवासी नियमित जहाज उडानमै ढुक्क भने थिएनन्। खनालले उद्घाटन गर्दै गर्दा विमानस्थलमा राजनीतिक रंग देखिएको थियो।

धावनमार्ग उद्घाटनको नेकपा एमालेले बहिष्कार नै गरेको थियो। तारा एयरसँग नियमित उडान सम्झौता गरेका एमाले जिल्ला अध्यक्षसमेत रहेका तत्कालीन इलाम नगर प्रमुख महेश बस्नेत नै कार्यक्रममा आएनन्।

वक्ताको रुपमा राखिएका बस्नेत नआएपछि खनालका विश्वासपात्र सूर्योदय नगर प्रमुख रणबहादुर राईले जनप्रतिनिधिको प्रतिनिधित्व गर्दै भनाइ राखे।

तत्कालीन एमाले जिल्ला सचिव उमेश गुरुङले सत्ता गठबन्धनको कार्यक्रम जस्तो गरी प्रमुख प्रतिपक्षीलाई बाइपास गरेर राजनीतिक स्वार्थको लागि प्रयोग गरेको आरोप लगाउँदै विज्ञप्ति नै निकाले।

गुरुङले विज्ञप्तिमा २०६८ सालमा निर्माण शुरु भएको विमानस्थल अहिलेको अवस्थामा ल्याउन केपी ओली सरकार र तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीको देन भएकोसमेत लेख्न भ्याए।

धावनमार्ग विवादबीच उद्घाटनपछि सम्झौता बमोजिम फाल्गुण ११ गतेबाट तारा एयरको ट्विनअटर विमान उडान थाल्यो। इलामेलीहरूले जेठ ६ गतेसम्म गृह जिल्लाको विमानस्थलबाट काठमाण्डौ पुग्ने अवसर पाए।

इलाम नगरपालिकाले प्रत्येक उडानमा ११ जना यात्रु सुनिश्चित गरेपछि तारा एयरले इलामबाट उडान थालेको थियो। नगरपालिकाले यात्रुहरूको ग्यारेन्टीको लागि १० लाख रुपैयाँसमेत विनियोजन गरेको थियो।

एकतर्फी टिकट काट्नेलाई अर्कोतर्फको भाडा समेत तिरिदिने गरि इलाम नगरपालिकाले अफरसमेत ल्याएको थियो। ज्येष्ठ नागरिक, कडा रोगका लागि सिफारिश भएका बिरामी, खेलाडी, संघसंस्था तथा गैससकर्मी, उद्योग वाणिज्य संघ इलामले सिफारिश गरेका व्यापारी, पर्यटकहरू, पत्रकार महासंघले सिफारिश गरेका पत्रकार हुँदै नवौं क्रममा इलाम नगरपालिकाका जनप्रतिनिधिलाई राखिएको थियो। 

तर जेठ १५ गते पोखराबाट जोमसोम उडेको विमान दुर्घटना भएपछि इलामबाट तारा एयरको जहाजले पुनः उडान गरेन।

करिब ३ महिना इलामबाट तारा एयरले १७ वटा उडान सम्पन्न गरेको थियो। सोबापत इलाम नगरपालिकाले एयरलाइन्सलाई ११ लाख ४६ हजार १९६ रुपैयाँ भुक्तानी गरेको देखिन्छ।

इलाम नगरपालिकाले १७ वटा उडानमा अपुग यात्रुबापतको रकम तारा एयरलाई भुक्तानी दिएको हो। नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले तारा एयरसँग सम्झौता भएबमोजिम भुक्तानी दिएको स्वीकार गरे।

‘नगरपालिकाले गत वर्ष एयरलाइन्ससँग १२ फ्लाइट सम्झौता गरेको थियो। सम्झौतामा प्रत्येक फ्लाइटमा ११ जना यात्रु नपुगे भए थप नगरले गर्ने भनिएको हो। उहाँहरूले १७ फ्लाइट गर्नुभएको छ। त्यहीअनुसार नगरले भुक्तानी दिएको हो’, दुलालले भने।

चर्किन थाल्यो धावनमार्ग

हरेक उडानमा ११ जना यात्रुको टिकट ग्यारेण्टी गरेपछि मात्र तारा एयरले सातामा दुई दिन उडान शुरु गरेको थियो। मुस्ताङ दुर्घटनापछि तारा एयरले उडान गर्न छाडेपछि आजकाल इलामको सुकिलुम्वा विमानस्थल सुनसान भएको छ।

त्यतिमात्र हैन ७ सय मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको धावनमार्गको तल्लो भाग भासिन थालेको छ। नियमित उडान नहुँदै धावनमार्ग चर्किएपछि टालटुल पारिएको थियो।

राज्यको ठूलो लगानीमा निर्माण भएको विमानस्थल नियमित सञ्चालनमा नआउँदै धावनमार्गको भासिन शुरु भएपछि अनेकौं प्रश्न उठ्न थालेको छ।

विमानस्थल निर्माणको क्रममा थुप्रै प्राविधिक कमजोरी रहेको स्थानीयको भनाइ छ। विमानस्थल निर्माणमा हालसम्म राज्यको करिब ३० करोड लगानी भइसकेको छ।

अझै सुविधासम्पन्न शौचालय, टर्मिनल भवनदेखि विमानस्थलसम्म पुग्ने सडक कालोपत्रे गर्न बाँकी नै छ। यात्रु प्रतीक्षालय र शौचालय निर्माणमा नगरपालिकाले २ लाख २३ हजार रुपैयाँ खर्च गरेको छ।

बन्द विमानस्थल रेखदेखका लागि हाल एकजना कर्मचारी राखिएको छ। ३ सय २८ रोपनी क्षेत्रफलमा रहेको विमानस्थल निर्माणमा ३१ घरपरिवारलाई जग्गाको मुआब्जाबापत २ करोड २५ लाख रुपैयाँ वितरण भएको थियो।

हवाई सेवा सञ्चालन गर्न नगरपालिका सकारात्मक

इलाम नगरपालिकाका प्रवक्ता दुलालले विमानस्थल सञ्चालनबारे नगरपालिका सकारात्मक रहेको बताए। उनले तारा एयरसँग गरिएको सम्झौता सकिएकाले थप प्रक्रिया अघि बढाएको बताए।

‘गत साउन ६ गतेको कार्यपालिका बैठकबाट नेपाल उड्डयन प्राधिकरण र तारा एयरलाई उडान सञ्चालन गर्न अनुरोध पठाएका छौं। सरकारलाई हप्तामा एक पटक सरकारी ध्वजावाहकलाई इलाम–काठमाडौं उडान गर्न अनुरोध गरेका छौं। अहिलेसम्म त्यसको जवाफ आएको छैन’, दुलालले भने‚ ‘तारा एयरले गत जेठको दुर्घटनापछि थप प्लेन ल्याउन नसकेको बताएकाले प्रक्रिया अघि बढ्न सकेको छैन। तर उहाँहरूले थप छलफल गरेर इलामबाट हवाई उडानका लागि सकारात्मक रहेको संकेत दिनुभएको छ।’

अहिले प्राधिकरणको सातौँ तहको कर्मचारी र चौकीदार कार्यालयमा रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.