|

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक समृद्धिका लागि कृषिलाई उद्योगमा विकास गर्नुपर्ने बताएकी छन्। 

काठमाडौंमा शुक्रबार गुरु ट्राभल्स लिमिटेडको समुद्घाटन तथा शुभारम्भलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशको समृद्धिका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन्। उनले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगमा विकास गर्नुपर्नेमा जोड दिइन्।

उनले निजी क्षेत्रले पनि कृषिलाई उद्योगमा विकास गर्न व्यावसायीकरण र यान्त्रिकीकरण गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरिन्। मन्त्री भुसालले कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताइन्।

उनले भनिन्‚ ‘आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिबद्धता हामीले संविधानमै गयौं। अब त्यसको कार्यान्वयन तहमा हामी अगाडि बढेका छौँ। त्यो विकास धेरै तरिकाले हुन्छ। तर आधारभूत कुराचाहिँ तीनओटा हुन् भन्ने मलाई लाग्छ, एक नम्बर कृषि नै रहेछ। सिँचाइको मात्रै उचित ढंगले व्यवस्थापन गर्दा र आधुनिक मल, बीउ र यान्त्रिकीकरण गर्दा हामी कृषिमा आत्मनिर्भर हुनसक्छौँ।’

उनले विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्ने बताइन्। धेरैभन्दा धेरै पर्यटक भित्र्याउनमा पनि जोड गर्नुपर्ने उनको भनाइ छ।

‘हिजो खाद्यान्न निर्यात गर्ने राष्ट्र हामी अहिले आयात गरेर खाने बनेका छौँ। हामीले आफ्नो जमिन बाँझो नछोडी खेती गर्नुपर्छ। हामीलाई भूकम्पले पनि सिकायो र कोभिडको महासंकटले पनि हामी टिकिराखेका छौँ‚’ उनले भनिन्‚ ‘कृषि आधारभूत कुरा हो। बरु यसलाई अझ व्यवसायीकरण, यान्त्रिकीकरण गर्ने कुरामा हामी सबै लाग्ने कुरा र संस्थागत ढंगले उद्योगी व्यवसायीको छाता संगठनले पनि यो कुरा सोच्नुपर्छ। कृषि पनि उद्योग हो। यसलाई पनि हामी उद्योगको तरिकाले अगाडि बढाउन सक्छौँ भन्ने तरिकाले लाग्न जरुरी छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.