|

बैतडी : बैतडीका ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका छन्।

जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुरचौंडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका हुन्।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले ८ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको छ। जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्यम जोखिममा रहेका छन्।

जिल्लाका स्थानीय तहमा बाढीको समेत जोखिम रहेको योजनामा उल्लेख गरिएको छ। सिगास गाउँपालिका, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्य तहको तुलनामा बाढीको जोखिम बढी रहेको बताइएको छ।

गएका वर्षहरूमा पहिरो र बाढीले गरेको क्षति र विभिन्न सर्वेक्षणका आधारमा उच्च र मध्यम जोखिम भनेर छुट्याइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनले भने, ‘उच्च र मध्यम जोखिम छुट्याएका छौं, सोही आधारमा सम्बन्धित स्थानीय तहलाई पूर्वतयारी गर्न भनिएको छ। साथै सुरक्षित स्थानको पनि पहिचान  पनि गर्न आग्रह गरेका छौं।’

वर्षातको समयमा विपद्का घटना हुन सक्ने भएकाले सम्भावित दुर्घटनाबाट जोगिन आवश्यक उपाय अपनाउन जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ।

पहिरोका कारण विगतमा जनधनको क्षति भएकाले पनि पहिरोको जोखिम बढी रहेका स्थानका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। गत वर्ष मात्रै बैतडीमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको भने करोडौंको भौतिक र बालीमा क्षति पुगेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.