|

हेटौंडा : मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारका कैदीबन्दीहरूको दिनचर्या फेरिएको छ। विभिन्न आपराधिक गतिविधि गरेर सजाय काट्न कारागार चलान भएका कैदीबन्दीहरू हिंसाको विरुद्वमा उभिन थालेका छन्। अपराध गरेर वा अपराध नगरिकनै आफूलाई फसाइएको भन्दै कारागारबाट निस्केर बदला लिने बताउने गरेका कैदीबन्दीहरू पछिल्लो समय बदला छोडेर बद्लिन थालेका हुन्।

४ पर्खालभित्र गुम्सिएर एउटा दुनियाँमा बस्ने कैदीहरूलाई पछिल्लो समय सरकारले विपश्यना गराउन थालेको छ। जसले गर्दा उनीहरूको दैनिकी मात्रै होइन उनीहरूको सोचाई,बुझाई र व्यवहार नै फेरिएको छ। भीमफेदी कारागारमा साउन १५ गते यता चौथो चरणमा विपश्यना भइरहेको छ।

कारागारमा रहेको कैदीबन्दीहरू विपश्यना गर्न थालेसँगै परिवर्तन हुन थालेका हुन्। कारागारमा गएको जेठ १३ गतेबाट विपश्यना गर्न सुरु गरिएको थियो। एक चरणमा १० दिनसम्म चल्ने विपश्यनाको अहिले चौथो चरण चलिरहेको छ। 

गत वर्षको पुष महिनामा गृह मन्त्रालयले कैदीबन्दीको मागअनुसार सुरक्षा व्यवस्था र स्थानको उपलब्धता हेरेर सम्बन्धित कारागारको सिफारिसमा विभागको स्वीकृतिमा विपश्यना शिविर चलाउन दिने निर्णय गरेको थियो। कारागारका जेलर मदन लामाको अनुसार हाल कारागारमा कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयको पहलमा विपश्यना ध्यान केन्द्र नामक सस्ंथाले कैदीबन्दीहरूलाई विपश्यना गराइरहेको छ।

जेलर लामाको अनुसार करिव दुई दशकअघि नख्खुमा रहेको कारागारमा विपश्यना शिविर सञ्चालन गरिएको थियो। बोधीबज्र बज्राचार्यले २०५२-५३ सालतीर मा जेलका २० जना कैदीबन्दीलाई विपश्यना गराएका थिए। त्यसको दुई वर्षपछि नख्खुकै २३ कैदीबन्दीलाई विपश्यना गराइएको थियो। त्यसयता विविध कारणले कैदीबन्दीहरूलाई विपश्यना गराउन छोडिएको थियो।

फेरि केहि समयअघि नख्खु कारागारमा रहेका कैदीबन्दीलाई सरकारले विपश्यना गराउन थालेको थियो। तर,नख्खु कारागारमा सुरक्षाको हिसाबले विपश्यना गराउन उपयुक्त नदेखिएपछि गृहले भीमफेदी कारागारका कैदीबन्दीहरूलाई विपश्यना गराउन थालेको हो।

जेलर लामाको अनुसार हाल देशभरको कारागारमध्ये भीमफेदी कारागारमा मात्रै विपश्यना सञ्चालन भइरहेको छ। भीमफेदी कारागारमा परिक्षणको रुपमा विपश्यना सञ्चालन भइरहेको भन्दै लामाले यहाँ राम्रो परिणाम ल्याए अन्य कारागारमा पनि सञ्चालन गर्ने तयारी रहेको बताए।

कारगारमा परिसरमा महिला कैदीबन्दीको लागि बनेको भवन खाली छ। महिला कैदीबन्दीको लागि भवन बनाइएपनि हालसम्म महिला कैदीबन्दीलाई भीमफेदी कारागारमा राखिएको छैन। त्यसैले उक्त भवनमा राखेर कैदीबन्दीहरूलाई विपश्यना गराइरहेको जेलर लामाले बताए।

उनको अनुसार जेठ १३ गते भएको पहिलो चरणको विपश्यनामा कारागारका ३० जना कैदीबन्दीहरूले सहभागिता जनाएका थिए। १० दिनसम्म आफूलाई चाहिने सामान पोको पारेर विपश्यना पसेका कैदीबन्दीहरू बाहिरिँदा अर्कै स्वरुपमा फर्किएको जेलर लामाको भनाई छ। १० दिनमा उनीहरूको आचरण र व्यवहारको स्वरुप फरक देखिएको थियो।

 १० दिन अघिसम्म मांसहारी कैदीबन्दी १० दिनको विपश्यना ध्यान शिविरपछि साकाहारी भएर निस्केको लामा बताउँछन्। ‘अत्यन्त रिस र बदलाको भावना बोकेर विपश्यना पसेका कैदीबन्दीहरू पनि बाहिर निस्किँदा माछामासु समेत नखाने गरि परिवर्तन भएर निस्किए’,उनले भने।

पहिलो शिविर संचालन हुँदा आफुसमेत सहभागी भएर १० दिने शिविर पुरा गरेपछि विपश्यना ध्यानको महत्व बुझेको उनको भनाई छ। ध्यान अघि र ध्यानपछिको आफ्नै सोचाई र व्यवहारमा परिवर्तन देखेर कारागारमा समेत विपश्यना ध्यान शिविरलाई निरन्तर गरेको उनी बताउछन्।

 ‘जेलमा कैदीबन्दीहरू जटिल खालको शारीरिक, मानसिक स्थितिबाट गुज्रिएका हुन्छन्, त्यसलाई विपश्यनाले न्युनिकरण गर्न सहयोग गरेको छ’, उनले भने, ‘ध्यानले कैदीबन्दीलाई मानसिक रूपमा शान्त र जेलबाट छुटेपछि सही बाटोमा लाग्ने प्रेरणा मिल्छ।’

थिङका अनुसार हालसम्म ३ वटा शिविर पुर्ण भइसकेको र १ सय १८ जना कैदीबन्दीले १० दिने विपश्यना ध्यान शिविर पुरा गरेका छन्। उनको अनुसार पहिलो चरणको विपश्यनामा ३० जना,दोस्रोमा ४२ जना र तेस्रो शिविरमा ४६ जना कैदीबन्दी सहभागी भएका थिए।

अहिले चलिरहेको विपश्यनामा ३२ जना कैदीबन्दी सहाभागी रहेको उनको भनाई छ। ध्यानबाट कैदीबन्दीको आचारण सुधार, सकरात्मक मनोसामाजिक परिवर्तन र कारागारलाई सुधारगृह बनाई जेलबाट छुटेपछि सही बाटोमा लाग्ने प्रेरणा मिलोस् र समाजमा सहज पुर्नस्थापना होस भन्ने उदेश्य भएको उनले बताए।

उनको अनुसार कारागारमा रहेका कैदीबन्दीहरूलाई विपश्यना अनिवार्य गरिएको छैन। उनीहरूको ईच्छा र मागअनुसार मात्रै विपश्यना सञ्चालन भइरहेको छ। लामाले विपश्यनामा १० दिनसम्म बस्दा बोल्न नपाउने भएकोले कतिपय कैदीबन्दीले विपश्यनामा रुचि राख्ने नगरेको बताए। ‘हतपत विपश्यना गर्न कैदीबन्दीहरू रुचाइहाल्दैनन्। तर,गएर आएकाहरूमा देखिएको परिवर्तन र उनीहरूले गरेको कुरा सुनेर भने यसमा आकर्षण बढिरहेको छ’,उनले भने।

 हाल भीमफेदी कारागारमा ९ सय ४६ कैदीबन्दी रहेका छन्। जसमा स्वदेशी कैदी ७ सय ४६ जना,बन्दी २ सय २७ जना रहेका छन्। त्यस्तै विदेशी कैदी ४८ र १५ जना बन्दी रहेका कारागारका जेलर थिङले बताए। विदेशी कैदीबन्दीमा सबै भारतका रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.