काठमाडौंः सफल निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्म महापुरुषको पहिलो पोस्टर सार्वजनिक भएको छ। षट्कोण आर्ट्सको प्रस्तुती रहेको फिल्मको दुई वटा पोस्टर आइतबार सार्वजनिक गरिएको हो।
सार्वजनिक भएकाे एउटा पोस्टरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य सुगालाई हेरेर मुस्कुराइरहेका छन् भने अर्को पोस्टरमा गौरी मल्ल र हरिवंश श्रीमान् श्रीमतीको रुपमा देखिएका छन्। फिल्मले कार्तिक ११ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको छ।
महापुरुष प्रदीपको लेखन तथा निर्देशनमा बनेको चौथो फिल्म हो। यसअघि प्रदर्शनमा आएका उनका जात्रा, शत्रु गते र जात्रै जात्रा व्यवसायिक रुपमा सफल फिल्म हुन्। उनको पछिल्लो फिल्म जात्रै जात्रा तीन वर्षअघि प्रदर्शनमा आएको थियो।
प्रदीपले आफ्नो विश्वविद्यालय मान्ने मह जोडीलाई लिएर बनाएको याे पहिलो फिल्म भएकाले पनि महापुरुषलाई प्रतीक्षित फिल्मको रुपमा हेरिएको छ। कोरोनाका कारण निर्माणमा ढिलाइ भएको फिल्म अन्ततः कात्तिक ११ देखि प्रदर्शनमा आउने भएको हो।
सामाजिक विषयवस्तुमा बनेको फिल्ममा हरिवंश र गौरी बाहेक मदनकृष्ण श्रेष्ठ, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, राजाराम पौडेल, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।