|

झापा : कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन्। उनी च्याउ बेचेरै वार्षिक छ लाख रुपैयाँ मुनाफा आर्जन गर्छन्।

११ वर्षअघि आफूसँग भएको पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको २५ हजार रूपैयाँ लगानी गरेर बनाएको एउटा टहराबाट उनले च्याउखेती सुरु गरेका थिए।

एउटा टहरामा ४५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उनमाउत्साह बढ्यो। थप डेढ बिघा जमिन भाडामा लिएर १० वटा टहरामा व्यावसायिक खेती गरे। अहिले उनले १०  टहरामा सात हजार पोका च्याउको व्यावसायिक खेती गरिरहेका छन्। 

दधिरामजस्तै झापाका २० भन्दा बढी किसान च्याउको व्यावसायिक खेतीमा रमाइरहेका छन्। 

जिल्लामा वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।

एक दशक अघिसम्म सीमित फार्ममा पाइने च्याउ अहिले गाउँ–गाउँमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। २०० मेट्रिक टन च्याउ जिल्लामा खपत हुने गरेको र अरु जिल्ला बाहिरका बजारमा बिक्री हुँदै आएको छ। जिल्लामा च्याउखेती गर्ने सयौँ किसानले यसबाट रोजगारीको अवसर पाएका छन्।

जिल्लामा कन्ये, गोब्रेलगायतका च्याउखेती हुँदै आएको छ। विगतमा भारतबाट च्याउको बिउ ल्याएर खेती गर्दैै आएका किसानले हाल विर्तामोडको पाथीभरा च्याउ उद्योगमा उत्पादित च्याउको बीउ प्रयोग गरिरहेका छन् । जिल्लामा करिब २५ वर्षअघि कनकाई नगरपालिकाका गोपाल खत्रीले च्याउखेती सुरु गरेका थिए। उनले कसम च्याउ उद्योग सञ्चालनमा ल्याएको देखेपछि अरुले पनि खेतीको सिको गरेका थिए।

‘थोरै लगानी अनि अलि बढी मेहेनत गर्दा हुँदोरहेछ’, च्याउ किसान दधिराम किसान न्यौपानेले भने, ‘बजारको पनि समस्या छैन आम्दानी पनि छिट्टै दिन्छ। खुसी र सन्तुष्ट छु, च्याउखेतीबाट।’ कन्ये र मिल्की ह्वाइट जातको च्याउखेती गर्दै आएका न्यौपानेले उत्पादन गरेको कन्ये च्याउ विर्तामोडस्थित कृषि थोक बजारमा प्रतिकेजी रु १६० र मिल्की ह्वाइट ३०० मा बिक्री हुँदै आएको छ।

कृषि ज्ञान केन्द्रले किसानलाई च्याउखेतीका लागि प्रोत्साहन गर्न आर्थिक वर्ष २०७८÷७९ मा रु १७ लाख ६९ हजार चार सय ५० रकम अनुदान उपलब्ध गराएको जनाएको छ। जसमध्ये विर्तामोड नगरपालिकामा रहेको पाथीभरा च्याउ उद्योगले ५० प्रतिशत अनुदानमा रु १३ लाख तीन सय प्राप्त गरेको छ । च्याउको बीउ उत्पादन गर्दै आएको पाथीभराले १२  साना किसानलाई समेत समेटेर च्याउ ब्लक विकास कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले एक वर्षमा १८  किसानले च्याउखेतीमा अनुदान पाएको जानकारी दिए। उनले युवालक्षित कार्यक्रमअन्तर्गत ओमशान्ति क्वालिटी च्याउ उद्योग कचनकवललाई ८७ हजार, रीता च्याउ उद्योग दमकलाई ८४ हजार ६८०, प्रतिक च्याउ उद्योग अर्जुनधारालाई ८५ हजार २००, शान्ति च्याउ उद्योग गौरादहलाई एक लाख र श्रेष्ठ च्याउ उद्योग दमकलाई एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको जानकारी दिनुभयो ।

‘बजारको समस्या नहुने, घरबाटै बिक्री हुने र आम्दानी पनि छिटो दिने भएकाले किसानको आकर्षण बढेको छ’, उनले भने। प्रोटिनयुक्त च्याउ सबै उमेरका उपभोक्ताका लागि रुचिकर हुने गरेको छ। एकपटक खेती गरेको च्याउले तीन पटकसम्म राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा किसानले च्याउखेती रोज्ने गरेका छन्। 

जिल्लाको विर्तामोडमा उत्पादित च्याउको विजनले प्रदेश १ को झापा, मोरङ, सुनसरी, इलामसहित पोखरा र काठमाडौंमा समेत बजार पाउने गरेको छ। पाथीभरा च्याउ उद्योगका सञ्चालक राम खत्रीले दैनिक २७ हजार रुपैयाँको च्याउ बीउ उत्पादन गर्दै आएको बताए।

उद्योगको ल्याबमा दुई प्राविधिकसँगै अन्य १२ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.