|

म्याग्दी : बेनी नगरपालिका ५ गाजेनमा अवस्थित जगन्नाथ मन्दिरमा रथयात्रा र सरकारी भोज गरिएको छ ।

जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथि पारेर मंगलबार भगवान् जगन्नाथको रथयात्रा गरिएको हो। 

जगन्नाथको रथयात्रा भजनकीर्तन गरी मन्दिर परिसरमा परिक्रमा गराइएको थियो। सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने परम्परा छ।

यो अवसरमा सरकारी भोजको समेत आयोजना गरिएको थियो। जनप्रतिनिधि, सरकारी अधिकारी, भक्तजनलगायतले सरकारी भोज खाएका थिए।  ३७ पाथी चामलको खिर पकाएर भगवान जगन्नाथलाई भोग लगाएपछि प्रसादस्वरूप भोज खाने चलन छ।

रथयात्रा अवलोकन र सरकारी भोज खानका लागि म्याग्दी, पर्वत, बागलुङ, पोखरा चितवन, नवलपुर लगायत स्थानबाट श्रद्धालु आएको जगन्नाथ मन्दिर गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव नीलकण्ठ शर्माले जानकारी दिए।

सिंजा साम्राज्यको पतनपछि तत्कालीन चौबिसे राज्यमध्ये ऐतिहासिक पर्वत राज्यका समालव‌ंशी राजा दिलिप बम मल्ल (डिम्बले) अन्दाजी १५६० तिर भगवान जगन्नाथ मन्दिरको स्थापना गरेको विश्वास गरिन्छ। गाजने गाउँको बीच भाग हलहलेचौरमा भगवान् जगन्नाथको मन्दिर छ। मन्दिरबाट १० मिनेटको पैदल यात्रामा केभहिल पर्छ।

जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिप बम मल्लले सन् १५६० को दशकमा भारतको उडिसा राज्यमा गएर जगन्नाथ भगवानको मूर्ति ल्याएर मन्दिरको स्थापना गरेको भनाइ छ। 

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगर क्षेत्रभित्र पर्ने पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलमा भौतिक पूर्वाधारको विस्तार गरी पर्यटन प्रवर्धन गर्ने बताए । उनले बेनीको लभ्लीहिल हुँदै पुलस्त्य पुलहाश्रम, जगन्नाथ र केभहिल जाने केबुलकार निर्माण गर्नका लागि आवश्यक तयारी थालेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.