|

भोजपुर : भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौँमा एकदिने शिविर सञ्चालन गरेर नागरिकलाई सेवा दिएको छ।

भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातायात सञ्चालनमा कठिनाइ भएपछि नागरिकको सेवालाई ध्यानमा राख्दै काठमाडौँमा एकदिने कार्यक्रमको आयोजना गरेर आफ्ना नागरिकलाई सेवा दिएको हो।

काम विशेषले काठमाडौँ पुगेका तथा विभिन्न कारणवश सेवाबाट वञ्चित भएका ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई ध्यानमा राख्दै एक दिने सेवा प्रवाह कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए।

नागरिकलाई असहजतासँगै सेवा लिन आउँदा आर्थिक रुपमा समेत धेरै भार पर्ने भएकाले काठमाडौँ पुगेको अवसरमा त्यहीँबाट सेवा दिएको उनको भनाइ छ।

'जनप्रतिनिधिले जनताको सेवाको लागि काम गर्ने हो’, अध्यक्ष कुलुङले भने, ‘हाम्रो गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले सेवा लिन आउन निकै कठिन छ। नागरिकको सेवालाई ध्यानमा राख्दै हामीले यहाँबाट आजको एक दिन गाउँपालिका तथा वडाबाट प्रवाह हुने सेवा दिएका छौँ। यसले उहाँहरूलाई आर्थिक रुपले सहज भएको छ।’

जोरपाटीमा सञ्चालन भएको शिविरबाट काठमाडौँमा रहेका करिब एक सय ५० जनाले विभिन्न खाले सेवा लिएको अध्यक्ष कुलुङले जानकारी दिए।

स्थानीय नागरिकबाट माग भएकोले धरान विराटनगर, इटहरी झापा लगायतका ठाउँका नागरिकलाई लक्षित गरेर यस्तो शिविर सञ्चालन गर्ने योजना रहेको अध्यक्ष कुलुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.