|

सर्लाही : सर्लाहीको हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत नयाँ रोडमा आज बिहान कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। उपचारका क्रममा उनको मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ३३ प २२९५ नम्बरको मोटरसाइकललाई पश्चिमबाट आएको बा ७ च ९२२२ नम्बरको कारले ठक्कर दिँदा हरिवन नगरपालिका–११ का ३८ वर्षीय गुरुप्रसाद ढुंगेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ढुंगेलको वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। ढुंगेल हरिवन बजारस्थित घरबाट साढे ११ बजे खाना खाएर नयाँ रोडमा रहेको पसलमा जाने क्रममा दुर्घटनामा परेका हुन्।

मृतक ढुंगेल नयाँ रोडमा पशुपति मोटर पार्ट्स पसलका सञ्चालक हुन्। घटनामा संलग्न कार र कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतकको शव वीरगन्जमै पोष्टमार्टम गरी सर्लाही ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.