|

दाङ : तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीमा रहेको राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालयमा जलौका अर्थात् लिच थेरापीबाट उपचार सेवा दिन शुरु गरेपछि अहिले बिरामीहरू सेवा लिन आउने गरेका छन्।

बाँकेबाट आएकी डोल्मा सुनार विगत १४ वर्षदेखि शरीर चलाउने समस्याका कारण पीडित थिइन्। उनले धेरै ठाउँमा उपचार गर्दा निको नभएपछि बिजौरीमा गएर उपचार गर्दा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनी उपचार गर्न आएकी हुन्।

उनले यो पद्धतिबाट शुरुमा उपचार गर्दा डर लागे पनि अहिले अलि सुधार भएको बताइन्। उनले भनिन्, ‘शुरुमा जुका शरीरमा राख्दा डर लागेको थियो तर यसले टोके पनि केही थाहा पाइँदैन। यो रोगको उपचार धेरै गरे निको भएको थिएन। यहाँ राम्रो उपचार हुन्छ भन्ने थाहा पाएर आएकी थिएँ। यहाँ त जुकाले टोकाएर उपचार हुँदो रहेछ। धेरै चिलाउँथ्यो। यो तरिकाले उपचार गर्दा चिलाउन कम भएको छ।’

जलौका अर्थात् लिच थेरापीको उपचार सेवा शुरु भएको करिब २ महिना भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार पहिला छिटफुट रूपमा हुँदै आए पनि पछिल्लो २ महिनादेखि नियमित रूपमा शुरु भएको हो।

अस्पतालले धेरै मात्रामा जलौका (जुका) ठूला मात्रामा खरिद गरेर ल्याएपछि यो पद्धतिबाट उपचार गर्न शुरु गरिएको अस्पतालका कन्सल्ट्यान्ट आयुर्वेद शल्यचिकित्सक डा. मदन भण्डारीले बताए।

उनका अनुसार अस्पतालबाट यो सेवा शुरु भएपछि अहिलेसम्म करिब ३८ जनाले यो पद्धतिबाट सेवा लिएका छन्। उनका अनुसार केही रोगमा मात्र यो पद्धतिबाट उपचार गरिने र त्यसबाट बिरामीलाई राम्रो हुन्छ।

शुरुमा बिरामीले यो पद्धतिबाट उपचार गर्न डराउँछन्

डा. भण्डारीका अनुसार शुरुमा जुकाको टोकाइबाट उपचार गराउँदा बिरामीहरू डराउने भए पनि पछि ठिक भएपछि उनीहरूले नै अरू बिरामीहरू ल्याएर आउने गर्दछन्। उनले भने, ‘शुरुमा बिरामीलाई यो पद्धतिबाट उपचार गर्दा मनाउनै गाह्रो हुन्छ। जब उनीहरूले उपचार गरेर राम्रो हुन्छ अनि अरूलाई पनि उपचारका लागि ल्याउने गर्दछन्। जसले गर्दा यो पद्धतिबाट उपचार गर्नेको संख्या विस्तारै बढ्दै गएको छ।’

एकपटकको एक सय शुल्क

कुनै पनि बिरामीले जलौका पद्धतिबाट उपचार गरेमा एकपटकको एक सय मात्र शुल्क लाग्ने अस्पतालले जनाएको छ। बाहिर यो पद्धतिबाट उपचार गर्दा महँगो लाग्ने भए पनि आफूहरूले एकपटकको सय रुपैयाँमा मात्र लिने गरेको डा. भण्डारीले बताए। बिरामीको अवस्था हेरेर जलौका राख्ने गरेको पनि उनले बताए। उनका अनुसार कुनै पनि बिरामीलाई कम्तीमा ४-५ वटा जुका राखेर उपचार गरिन्छ। 

के हो जलौका उपचार सेवा?

जलौका उपचार पद्धति प्रकृतिमा पाइने अविषालु जुकाबाट गरिने पद्धति हो। आयुर्वेदमा यसलाई शोधन चिकित्साअन्तर्गत पर्ने जलौका कर्म भनिने डा. भण्डारीले बताए। रगत शोधनका लागि यो पद्धतिबाट उपचार गरिने पनि उनको भनाइ छ।

यो उपचारबाट शरीरमा भएको दूषित रगत जुकाले खाने र त्यसले गर्दा बिरामीलाई समस्याविना उपचार गर्न सहज हुने पनि बताए। उनले भने, ‘शरीरमा जुकाहरू राखिन्छ तर अन्य पद्धतिबाट उपचार गर्दा बिरामीलाई दुखाइ हुनसक्छ। यो पद्धतिबाट कुनै पनि दुखाइ हुँदैन। जुकाले हाम्रो शरीरमा रहेको दूषित रगत मात्र खान्छन्।’ मुख्य गरी छालाका समस्या भएका बिरामी, दुखाइको समस्या, नसाका समस्या भएका बिरामीलाई यो पद्धतिबाट उपचार गरिने पनि उनले बताए। उनले पछिल्लो समय कपाल नभएकाहरूलाई कपाल उमार्न पनि यो पद्धतिबाट उपचार गर्ने गरेको पनि बताए।

एउटा जुकाको  मूल्य ३ सय

अहिले अस्पतालले काठमाडौँबाट र भारतबाट ल्याएर उपचार गर्न लागे पनि यसको प्रतिजुका ३ सय पर्ने पनि अस्पतालले जनाएको छ।

यस्तै जिल्लाका केही ठाउँमा पनि यो प्रजातिका जुका पाइने आफूहरूले सूचना पाएको डा. भण्डारीले बताए। एकपटक प्रयोग गरेपछि फेरि एक हप्तापछि त्यही बिरामीलाई यो जुका प्रयोग गर्न मिल्ने उनको भनाइ छ। अहिले अस्पतालमा भएका जुकाहरूले ३ देखि १० एम.एलसम्म रगत एकपटकमा निकाल्ने गरेको पनि उनले बताए। 

उनले बिरामीबाट जुकाले खाएको रगत सबै खान नदिएर उनीहरूबाट त्यो तुरुन्त रगत बाहिर निकाल्ने र एक हप्तासम्म राखेर फेरि उपचार प्रयोग गर्ने  पनि बताए।

अस्पतालका निमित्त प्रमुख डाक्टर सन्तोष ठाकुरका अनुसार जलौका पद्धतिको उपचार परापूर्वकालदेखि भए पनि नेपालमा भने कम मात्रामा हुने गरेको छ।  नरदेवी आयुर्वेद चिकित्सालय, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिमकेन्द्र काठमाडौँपछि राप्ती प्रादेशिक अस्पतालमा यो सेवा शुरु भएको पनि उनले बताए। आयुर्वेदले मात्र नभई विभिन्न अनुसन्धानबाट पनि अहिले आधुनिक चिकित्सकहरूले यसको प्रभावकारिता स्वीकार गरेको उनको भनाइ छ।

श्रीलंका, भारत लगायत विभिन्न देशमा यो उपचार प्रभावकारी रूपमा बढेको पनि उनले बताए। उनले भने, ‘कुनै पनि बिरामीलाई उपचार गर्दा धेरै पीडा हुनसक्छ तर यो पद्धतिबाट उपचार गर्दा उनीहरूलाई कुनै पीडा हुँदैन। यी जुकाले हाम्रो शरीरमा भएको अशुद्ध रगत मात्र खाने भएकाले यो पनि  एउटा विशेषता हो।’

अस्पतालले निकट भविष्यमा थेरापिस्ट योगलाई  बहिर‌ंग (ओपीडी) सेवामा जोड्न लागेको पनि उनले बताए। उनका अनुसार त्यो सेवाबाट कुन रोगमा के योग गर्ने भन्ने बारेमा बिरामीलाई जानकारी दिइनेछ। जसले गर्दा बिरामीले घरमा गएर गर्न सक्ने छन्।

यसैगरी पञ्च कर्म पूर्णरूपमा असोज महिनासम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ थियो। यस्तै केही रोगमा होमियोप्याथीको प्रभावकारिता देखिएका कारण होमियोप्याथी, अकुपञ्चर लगायत कुरा आयुर्वेदसँगै अन्य वैकल्पिक पद्धतिलाई जोडेर प्रभावकारी रूपमा नागरिकलाई सेवा दिन खोजिरहेको पनि बताए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.