|

धनगढी : डोटीको जोरायल गाउँपालिकास्थित रूवस काँडामा बोगटान फुड्सिल गाउँपालिकाको गाडी दुर्घटना भएको छ।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको बा २ झ ३८७३ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो। धनगढीतर्फ आइरहेको गाउँपालिकाको जिप र विपरीत दिशाबाट आइरहेको कुखुरा बोकेको अर्को जिप ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटना हुँदा मानवीय क्षति नभएको तर गाडीमा क्षति पुगेको बताइएको छ। जिपमा एकजना वडाध्यक्ष र व्यापारीहरू सवार रहेका थिए। 

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला काठमाडौंमा छन्। उनले आफू काठमाडौंमा भएको र आफूले प्रयोग गर्ने गाडी ठोक्किएको विषयमा कुनै जानकारी नै नआएको बताएका छन्। ‘मलाई थाहा छैन। मलाई नसोध्नुस्‚’ उनले भने।

गाउँपालिकाकी उपाध्यक्ष विष्नादेवी देउवाले पनि गाडी एकजना वडाध्यक्षले लगेको मात्र थाहा पाएको बताइन्। उनले ‘मलाई सबै कुरा थाहा नै हुँदैन, अध्यक्षलाई सोध्नुस्’ भन्दै अन्जान बनिन्।

तर सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरतबहादुर चन्दले भने हालै सो गाडीको चालक परिवर्तन गरिएको र हिजो पालिकाको कार्यालयबाट गाडी लगिएकोमा आज दुर्घटना भएको जानकारी दिए।

हिजो बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष चन्द्रभान सुनार उक्त जिप लिएर धनगढीतर्फ हुँइकिएका थिए। स्रोतका अनुसार पुराना गाडी चालकलाई हटाएर अध्यक्ष गड्सिलाले आफ्ना नातेदार देवबहादुर गड्सिलालाई हालै नयाँ चालकमा राखेका थिए।

उनले गाडी (जिप) चलाएको एक हप्ता नबित्दै दुर्घटना भएको हो। सो जिपमा पालिका अध्यक्ष, वडाध्यक्षका आफन्त तथा व्यापारीहरू समेत सवार थिए। अहिले गाडी मर्मत गरिसकेर आफूहरू धनगढी आइरहेको वडाध्यक्ष सुनारले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.